कर्णालीमा डेङ्गीको प्रकोपः तीन सय ४० जनामा संक्रमण, दुई जनाको मृत्यु — स्वास्थ्यकर्मीले चेतावनी दिए “जोखिम अझै कायमै छ”

  • नमस्ते कर्णाली

  • २९, असोज २०८२

    सुर्खेत ।कर्णाली प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार गएको बैशाखदेखि असोज २५ गतेसम्म ३४० जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। यस अवधिमा दुई जनाले ज्यान गुमाएका छन्।

    डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो, जुन अघिल्ला वर्षहरूमा मुख्यतः तराई क्षेत्रमा सीमित देखिए पनि अब पहाडी र हिमाली जिल्लातर्फ पनि फैलिँदै गएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।

    संक्रमण सबैभन्दा बढी सुर्खेतमा

    निर्देशनालयको तथ्यांकअनुसार सबैभन्दा धेरै सुर्खेतमा २४८ जना संक्रमित फेला परेका छन्। सुर्खेत प्रदेश राजधानी भएको र यहाँको जनघनत्व, अस्पतालको सहज पहुँच तथा मानिसहरूको बढी आवागमनले गर्दा संक्रमण दर उच्च रहेको बताइएको छ।

    जिल्लागत विवरणअनुसार मुगुमा १, जुम्लामा ४, कालिकोटमा ८, दैलेखमा ५८, जाजरकोटमा ४, रुकुम पश्चिममा ७ र सल्यानमा १० जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ।

    तर, यी तथ्यांक केवल सरकारी अस्पतालहरूमा उपचार गराएका बिरामीको मात्रै हो। निजी अस्पताल र स्वास्थ्य संस्थाका संक्रमितको विवरण समेट्न नसकिएको कारण वास्तविक स्थिति अझ भयावह हुनसक्ने निर्देशनालयले जनाएको छ।

    कारण र जोखिम क्षेत्र

    स्वास्थ्यकर्मीहरूका अनुसार जलवायु परिवर्तन, अव्यवस्थित शहरीकरण र मानिसहरूको आवागमनले डेङ्गी फैलिने वातावरण थप बलियो बनेको हो।

    निर्देशनालयका फोकल पर्सन श्याम आचार्यका अनुसार वर्षातको समयमा संक्रमणको जोखिम सबैभन्दा उच्च हुन्छ। उनले भने,

    “विशेष गरी सुर्खेतको वीरेन्द्रनगर क्षेत्र रेडजोनमा पर्छ। अहिले कर्णालीका १० वटै जिल्लामा एडिस लामखुट्टे बस्ने जोखिम देखिएको छ।”

    बच्ने उपाय

    फोकल पर्सन आचार्यका अनुसार डेङ्गीबाट बच्न निम्न उपायहरू अपनाउन आवश्यक छः
    पूरा शरीर ढाक्ने कपडा लगाउने
    खाल्डाखुल्डी र पानी जम्ने स्थानहरू पुर्ने
    ट्याङ्की वा भाँडाकुँडा खाली गरी सफा राख्ने
    सुत्दा झुलको प्रयोग गर्ने
    खानेपानी वा ढल चुहिएको भए तत्काल मर्मत गर्ने
    उनले थपे “डेङ्गी नियन्त्रणको मुख्य उपाय लामखुट्टेको प्रजनन्‌स्थल नष्ट गर्नु हो। उडिरहेका लामखुट्टे मारेर मात्रै यो रोग नियन्त्रण गर्न सकिँदैन।”

    उनका अनुसार साउनदेखि कार्तिकसम्म एडिस लामखुट्टेको प्रजनन बढी हुने भएकाले यो अवधिमा हप्तामा कम्तीमा एकपटक समुदायस्तरमा सरसफाइ अभियान चलाउनुपर्ने सुझाव दिएका छन्।

    डेङ्गीका लक्षण र उपचार

    डेङ्गी सामान्य वा गम्भीर दुवै प्रकारको हुन सक्छ।
    हल्का लक्षणहरूमा उच्च ज्वरो, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने र छालामा दाग देखिनु पर्छ।
    गम्भीर अवस्थामा रक्तनलीमा क्षति, प्लेटलेट घट्ने, रगत बग्ने, पेट दुख्ने, सास फेर्न गाह्रो हुने, थकान, बेचैनी र चिडचिडापन हुने गर्छ।

    डेङ्गीको कुनै विशेष औषधि वा खोप उपलब्ध छैन। उपचारका क्रममा ज्वरो नियन्त्रणका लागि प्यारासिटामोल जस्ता औषधि दिइन्छ र बिरामीलाई धेरै मात्रामा सफा पानी पिउन र शरीर हाइड्रेटेड राख्न सुझाव दिइन्छ।

    चिसो मौसमसँगै जोखिम घट्दै

    आचार्यका अनुसार कार्तिक महिनादेखि तापक्रम घट्न थालेपछि डेङ्गी सार्ने लामखुट्टे निष्क्रिय हुने हुँदा संक्रमणको जोखिम क्रमशः घट्दै जान्छ।
    तर उनले चेतावनी दिए,

    “भदौ र असोजमा पानी जम्ने र आद्र्रता बढ्ने कारणले संक्रमण दर सबैभन्दा बढी हुन्छ। उपचार पद्धति नभएकाले लामखुट्टेबाटै बच्ने उपाय नै सबैभन्दा सुरक्षित माध्यम हो।”
    कर्णालीमा डेङ्गी नियन्त्रण अझै चुनौतीपूर्ण बनेको छ। स्वास्थ्यकर्मीहरूले सामूहिक सरसफाइ, पानी जम्न नदिने र व्यक्तिगत सावधानी अपनाउन आग्रह गर्दै भनेका छन् —
    “लामखुट्टे नष्ट गरौं, डेङ्गी नियन्त्रणगरौं।”

  • २९ आश्विन २०८२, बुधबार १३:२५ प्रकाशित

  • Nabintech