३०,असोज २०८२
बाँके ।आगामी मंसिर ६ गते हुने धारा नेपालगञ्ज म्याराथनका लागि केन्याका विश्वस्तरका धावक जोन केलाई र मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधानलाई सदभावना दूत (Goodwill Ambassador) नियुक्त गरिएको छ।
नेपालगञ्जमा आयोजित विशेष समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले दुबै सदभावना दूतलाई कदरपत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए।
कार्यक्रममा मेयर बिष्टले छोटो समयमै नेपालगञ्ज म्याराथनले अन्तर्राष्ट्रिय स्तरमा विश्वास र पहिचान आर्जन गर्न सफल भएको बताउँदै भने,
“म्याराथन अब खेलमात्र होइन, शान्ति, सद्भाव र एकताको सशक्त माध्यम बनिसकेको छ। हामी सबैले मंसिर ६ गतेलाई साँच्चिकै एकता र सद्भावको दिन बनाऔं।”
त्यसैगरी टाइटल स्पोन्सर केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले नेपालगञ्ज म्याराथनको निरन्तरता र प्रभावबाट आफूहरू प्रभावित भएको उल्लेख गर्दै भने यो कार्यक्रमले नेपालको खेलकुदमा नयाँ उत्साह र पहिचान सिर्जना गरेको छ, हामी यसको दायरा अझ बढाउन साथ दिनेछौं।”
कमनवेल्थ गेम्स २०१० का स्वर्णपदक विजेता केन्याली धावक जोन केलाईले नेपाललाई प्राकृतिक सौन्दर्यको देशका रूपमा विश्वले हेर्ने गरेको बताउँदै भने,“अब म्याराथनकै माध्यमबाट विश्वका धेरै खेलाडी नेपाल आउन आकर्षित हुनेछन्। म पनि अन्तर्राष्ट्रिय धावकहरूलाई नेपाल ल्याउन पहल गर्नेछु।”
त्यसैगरी मिस नेपाल श्रृच्छा प्रधानले म्याराथनजस्ता कार्यक्रमले सामाजिक र वातावरणीय सचेतना जगाउन ठूलो भूमिका खेल्ने बताउँदै भनिन्, “पर्यावरणीय संकट सामूहिक प्रयासबाट मात्रै समाधान हुन सक्छ। म्याराथनले यसको सन्देश फैलाउन प्रभावकारी भूमिका खेल्नेछ।”
कार्यक्रममा ‘गौघाट ग्रीन रन’ को टिसर्ट समेत सार्वजनिक गरिएको थियो। उक्त ग्रीन रन भोलि बिहान खजुराको सितापुरमा हुने बताइएको छ।
धारा नेपालगञ्ज म्याराथनको ११औं संस्करण मंसिर ६ गते शनिबार हुने तय गरिएको छ, जसका लागि दर्ता प्रक्रिया खुला गरिएको आयोजकले जनाएको छ।