३०, असोज २०८२ बाँके । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीको नेतृत्वमा इजरायलबाट हमासको अपहरणमा परेर ज्यान गुमाएका नेपाली युवा विपिन जोशीको सम्झनामा नेपालगञ्जमा बुधवार साँझ त्रिभुवन चौकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
साँझ ५ः३० बजे सुरु भएको कार्यक्रममा मानव अधिकारकर्मी, पत्रकार, जनप्रतिनिधि र स्थानीय युवाहरूको उपस्थितिमा जोशीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
पूर्व आयुक्त मोहना अन्सारीले भनिन्,“विपिन जोशीको जीवन जोगाउन सकिने अवस्था थियो, तर राज्यको कूटनीतिक उदासीनता र ढिलासुस्तीका कारण उनको ज्यान गयो । नागरिकको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्छ ।”
लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री भण्डारी लाल यादवले भने,“एक नेपाली युवा अन्तर्राष्ट्रिय आतङ्ककारी समूहको सिकार हुँदा पनि राज्य मौन रह्यो, यो गम्भीर लापरबाही हो । अब यस्तो अवस्था कहिल्यै नदोहोरोस् भन्ने हाम्रो आग्रह हो ।”
मानव अधिकारकर्मी रुबि खानले भनिन्,“विपिन जोशीको बलिदानले हामीलाई मानवता र शान्तिको पक्षमा अझै दृढ बनाएको छ । हामी न्यायको आवाज निरन्तर उठाइरहनेछौँ ।”
अधिकारकर्मी एवं पत्रकार आलम खानले भने,“सामान्य नागरिकका हकहितका विषयमा समेत राज्य संवेदनशील हुन नसक्नु दुःखद हो। विपिनको सम्झनामा जलाइएको यो दीप न्याय र मानवताको प्रतीक हो ।”
टिएस ठकुरीले भने,“विपिनले बाँच्न पाएनन्, तर उनको सम्झनाले हामीलाई देश र मानवताको पक्षमा बोल्ने साहस दिएको छ।” कार्यक्रममा उपस्थित युवाहरूले दीप प्रज्वलन गर्दै “शान्ति, न्याय र मानवता” का नाराहरू दिएका लगाएका थिए ।
जोशीको सम्झनामा गरिएको श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले राज्यसत्तालाई नागरिकको सुरक्षाप्रति जिम्मेवार बन्न र विपिन जोशीप्रति उचित सम्मानका साथ राष्ट्रिय स्तरमा श्रद्धाञ्जली कार्यक्रम गर्न माग गरेका थिए ।