१, कार्तिक २०८२
बाँके ।बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीमाथि पछिल्ला दिनमा गरिएको आरोपहरू असत्य र भ्रमपूर्ण भएको भन्दै बाँकेका सचेत नागरिकहरूले शुक्रबार जोशीको समर्थनमा गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन्।
सर्वसाधारण नागरिक, शिक्षक, व्यवसायी र विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाइएको उक्त ज्ञापनपत्रमा सिडिओ जोशीको इमानदार, निष्पक्ष र जनमुखी नेतृत्वको प्रशंसा गरिएको छ।
ज्ञापनपत्रमा भनिएको छ,
“केही समूहले व्यक्तिगत स्वार्थ र प्रशासनिक अनुशासन तोड्ने प्रयासलाई ढाकछोप गर्न सिडिओ जोशीमाथि अनावश्यक आरोप लगाइरहेका छन्। जोशीज्यूको संयमित र व्यावसायिक नेतृत्वकै कारण बाँकेमा पछिल्ला महिनामा कानून–व्यवस्था, धार्मिक सद्भाव र सामाजिक सुरक्षा कायम गर्न उल्लेखनीय सुधार भएको छ।”
नागरिकहरूले मिडियामा आएका केही रिपोर्टहरूप्रति असन्तुष्टि जनाउँदै भने,
“सिडिओ जोशीले आफ्नो पदीय जिम्मेवारी कानूनी मर्यादाभित्र रहेर निर्वाह गर्दै आएका छन्। अनुशासन र नागरिक सुरक्षाको पक्षमा गरिएको प्रशासनिक कठोरतालाई अराजकता भन्ने प्रयास गलत र अन्यायपूर्ण हो।”
ज्ञापनपत्रमा गृहमन्त्रीलाई बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीजस्ता इमानदार र सक्रिय प्रशासकहरूलाई हौसला र समर्थन प्रदान गर्न आग्रह गरिएको छ।
त्यसमा थपिएको छ,
“जोशीज्यूले जिल्लामा स्थायित्व, पारदर्शिता र नागरिकमैत्री प्रशासनिक अभ्यासलाई नयाँ ढंगले अघि बढाउनुभएको छ। त्यस्ता अधिकारीमाथि निराधार प्रचार गर्नु भनेको जनविश्वासमा आघात पुर्याउनु हो।”
सुक्रबार दिउँसो बुझाइएको उक्त ज्ञापनपत्रमा १०० भन्दा बढी व्यक्तिहरूले हस्ताक्षर गरेका थिए। उनीहरूले हालैका केही सञ्चारमाध्यमहरूले सिडिओ जोशीको सकारात्मक भूमिकालाई तोडमोड गरेर प्रस्तुत गरेको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्।
ज्ञापनपत्रमा गृह मन्त्रालयलाई आग्रह गर्दै भनिएको छ,
“स्थानीय प्रशासनले सञ्चालन गरिरहेका अनुकरणीय कार्यहरूको निरन्तरता र प्रोत्साहनका लागि मन्त्रालयले आवश्यक सहयोग र नीति निर्देशन दिनुपर्छ।”
यसअघि बिहीबार केही नागरिक समाजका प्रतिनिधिहरूले सिडिओ जोशीविरुद्ध गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका थिए। त्यसको भोलिपल्ट शुक्रबार विभिन्न संघ–संस्था, शिक्षक, व्यवसायी र स्थानीयवासीहरूले सिडिओको पक्षमा हस्ताक्षर संकलन गरी समर्थन ज्ञापनपत्र बुझाएका हुन्।