तिहार नजिकिँदै बर्दियाका कसगर समुदाय व्यस्त : माटोका दियो र गाग्रो बनाउन भ्याइनभ्याई

  • नमस्ते कर्णाली

  • सरला सुवेदी
    १, कार्तिक २०८२
    बर्दिया । तिहार नजिकिँदै गर्दा बर्दियामा बसोबास गर्दै आएका कसगर समुदायका घर–घरमा अहिले माटोको दियो, गाग्रो, पाला, जातो, नदिया, सिँगारदानदेखि चुलो बनाउनै व्यस्तता छ। दशैँ र तिहारको समय वर्षभरि उनीहरूका लागि सबैभन्दा कामको चाप हुने बेला मानिन्छ। विभिन्न स्थानबाट माटो संकलन गरी घरमै ल्याएर सामग्री उत्पादन गर्ने परम्परा उनीहरूले पुस्तौँदेखि निरन्तरता दिँदै आएका छन्।

    गुलरिया नगरपालिका–८ का साहिल कसगर भन्छन्, “हाम्रो बाजेबुवाको पालादेखि नै माटोको काम गर्दै आएको हो। अहिले पनि हामी दिनहुँ तीनदेखि चार हजार माटोका दियो, पाला, गाग्रो लगायत सामग्री बनाउँछौं। यिनै सामान बुटवल, सुर्खेत, नारायणघाटसम्म पुग्छन्। यसैबाट परिवार पाल्ने गरेका छौँ।”

    तर, बजारमा रेडिमेड झिलिमिली बत्ती, बल्ब र प्लास्टिक–स्टीलका भाँडाकुडाको प्रयोग बढेसँगै परम्परागत माटोको सामानप्रतिको मागमा कमी आएको उनीहरूको गुनासो छ। साहिल कसगर थप्छन्, “आजभोलि मानिसले चाडपर्वमा सजिलै उपलब्ध हुने रेडिमेड सामान किन्न थालेका छन्। यसले हाम्रो पुर्खौली पेशा नै संकटमा परेको छ।”

    यद्यपि, युवा पुस्ताले पनि बिस्तारै पुर्खौली पेशा अंगाल्दै आएका छन्। गुलरियाकै किस्मतुल कसगर भन्छन्, “हामी युवाले पनि यो पेशा छोड्न चाहँदैनौँ। यो हाम्रो संस्कृतिसँग जोडिएको काम हो। तर, प्लास्टिक र स्टीलका सामानको बढ्दो प्रयोगले हाम्रो व्यवसायमा धेरै कम आएको छ।”

    कसगर समुदायले आफ्नै पाखुराको बलमा पुर्खौली पेशा जोगाइराखेका भए पनि यसलाई व्यवसायिक बनाउन स्थानीय सरकार र सरोकारवालाको सहयोग अत्यावश्यक रहेको उनीहरूको भनाइ छ। रहिस कसगरले भने, “हामीलाई सहयोग गर्ने उत्प्रेरणामूलक कार्यक्रम ल्याइदिनुपर्छ। स्थानीय सरकारले हाम्रो पेशालाई जगेर्ना गर्न ध्यान दिनुपर्ने बेला आएको छ।”

    यस पेशाले मात्र नभई जिल्लाका अन्य जातजातिका परम्परागत पेशाहरू पनि संकटमा परेको उनीहरूको निष्कर्ष छ। रहिस कसगर थप्छन्, “हाम्रो मात्र होइन, सबै जातजातिको पुर्खौली पेशालाई सरकारले संरक्षण र प्रवर्द्धन गर्नुपर्छ। यसो गर्न सके स्थानीय संस्कृति जगेर्ना हुने मात्र होइन, नयाँ पुस्ताले पनि यसलाई रोजगारीको अवसरका रूपमा लिन सक्नेछन्।”

    नेपाली समाजमा तिहार, छठ, दिपावलीलगायत पर्वका बेला घरलाई उज्यालो बनाउन माटोका दियो र घरायसी प्रयोगका लागि गाग्रो, पाला जस्ता सामग्रीको महत्त्व अझै पनि कायमै छ। तर आधुनिक प्रविधि र सजिलो विकल्पको कारण परम्परागत पेशामा संलग्न समुदाय प्रभावित भइरहेका छन्।

    कसगर समुदायका सदस्यहरूको भनाइमा, समय बदलिँदै जाँदा व्यवसायलाई पनि आधुनिक ढाँचामा रुपान्तरण गर्नुपर्ने आवश्यकता छ। उनीहरू भन्छन्, “यदि सरकारले तालिम, बजार व्यवस्थापन र प्रोत्साहनका कार्यक्रम ल्याइदिए भने माटोका उत्पादनलाई थप आकर्षक र प्रतिस्पर्धी बनाउन सकिन्छ। यसले परम्परा पनि जोगिन्छ र आम्दानी पनि बढ्छ।”

    बर्दियाका कसगरहरूलाई तिहार, छठ र यस्तै सांस्कृतिक पर्वहरूले अझै आशा र अवसर दिएको छ। उनीहरूको पुर्खौली सीपलाई स्थानीय सरकारले प्रोत्साहन दिन सके, आगामी पुस्ताले पनि माटोको उज्यालो सँगै आफ्नो भविष्य उज्यालो बनाउन सक्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्।

  • २ कार्तिक २०८२, शनिबार ०८:२५ प्रकाशित

  • Nabintech