सरला सुवेदी
२, कार्तिक २०८२
बाँके ।तिहार नजिकिँदै जाँदा बाँके जिल्लाको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्जको एकलाइनी बजारमा दैनिक बिहानैदेखि नै किनमेल गर्ने उपभोक्ताको भीड बढ्न थालेको छ। नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारका लागि आवश्यक सामग्री किन्ने उपभोक्ताको घुइँचोले बजार निकै रौनकपूर्ण बनेको छ।
लक्ष्मी पूजा, म्ह पूजा र भाइटीकाका लागि आवश्यक सामग्री एउटै स्थानमा सहज रूपमा उपलब्ध हुने भएकाले एकलाइनी बजारमा भीड अझ बढी देखिन्छ। विशेषगरी भाइटीकाका लागि अनिवार्य मानिने भाइमसला (ड्राइफ्रुट्स) किन्ने उपभोक्ताको चाप उल्लेखनीय रूपमा बढेको व्यापारीहरू बताउँछन्।
तीन दशकदेखि एकलाइनी बजारमा व्यापार गर्दै आउनु भएका व्यापारी मिराज खाँले भन्नुभयो,“पहिले जस्तो खुला रूपमा सुकाइएका ड्राइफ्रुट्स होइन, अहिले प्याकिङ गरेर आकर्षक रूपमा बिक्री हुने गरेका छन्। मूल्य पनि १५० देखि २ हजार रुपैयाँसम्मको राखिएको छ। ग्राहकको माग अनुसार विभिन्न प्याकेजमा उपलब्ध गराइन्छ।”
त्यस्तै, अर्का व्यवसायी राजु अग्रवालका अनुसार, “तिहार नजिकिँदा दैनिक बिक्री दोब्बर भएको छ। उपभोक्ताहरू विशेषगरी बदाम, काजु, किसमिस, खोबरा, सुपारी र चामलका रंगीन रूपले सजाइएका मसला बढी खोज्छन्,” उहाँले बताउनुभयो।
किनमेल गर्न कोहलपुर–२ बाट नेपालगञ्ज आइपुग्नुभएकी रमिता शर्माले भन्नुभयो,“गत वर्षको तुलनामा यसपालि मूल्यमा खासै फरक छैन। सबै सामान एकै ठाउँमा पाउँदा सहज भएको छ, बजारमा रमाइलो माहोल छ।”
त्यस्तै, बाँके बैजनाथका प्रेमा थापाले भन्नुभयो,
“यहाँको एकलाइनी बजारमा भाइमसला मात्रै होइन, पूजा सामग्रीदेखि लिएर घर सजावटका सामान सहजै पाइन्छ। यही कारण हरेक वर्ष तिहारमा यहाँ किनमेल गर्न आइन्छ।”
पोषणविद्हरूका अनुसार, भाइमसला (ड्राइफ्रुट्स) जाडो याम सुरु हुनै लाग्दा शरीरका लागि लाभदायक हुन्छन्। यी सामग्रीमा प्रोटिन, भिटामिन, फ्याट, फाइबर र मिनरल्स प्रचुर मात्रामा हुने भएकाले तिहारको बेला यसको सेवन स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक मानिन्छ।
तिहार नजिकिँदै गर्दा एकलाइनी बजारमा देखिएको चहलपहलले व्यवसायी र उपभोक्ता दुवैमा उत्साह बढाएको छ। बजारमा रंग, दियो, मिठाई र पूजा सामग्रीसँगै भाइमसलाको बिक्रीले तिहारको वातावरणलाई झनै रंगीन बनाएको छ।