४, कार्तिक २०८२
हुम्ला। ताँजाकोट गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका उद्देश्यसहित ‘गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह’ कार्यक्रम सुरु गर्न लागेको छ। आगामी मिति २०८२ साल कात्तिक १४ गतेदेखि शुरु हुने यस कार्यक्रम गाउँपालिका वडा नं. ३ स्थित श्री धर्मोदय माध्यमिक विद्यालय, चाखुरेमा सञ्चालन हुने भएको हो।
शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हुने यस कार्यक्रममा गाउँपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहनेछ। कार्यक्रममार्फत विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिस्पर्धात्मक भावना र व्यावहारिक सीप अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।
शिक्षा शाखा प्रमुख जयरुद्र ढकालका अनुसार, यस कार्यक्रममा विभिन्न तहका विद्यार्थीबीच कुल ५३ वटा प्रतिस्पर्धात्मक अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिनेछ। प्रतियोगितामा हाजिरीजवाफ, चित्रकला, गणितीय दौड, अनुलेखन, हस्तलेखन, हिज्जे, श्रुतिलेखन, वादविवाद, वक्तृत्वकला, नृत्य, गायन, विज्ञान प्रदर्शनी, कम्प्युटर सीप परीक्षण लगायतका गतिविधिहरू समावेश छन्।
तिनै तहका विद्यालयका विद्यार्थीहरूलाई समावेशी सहभागिता सुनिश्चित गर्न प्रत्येक प्रतिस्पर्धात्मक विधामा कम्तीमा एक जना छात्रा सहभागिता अनिवार्य गरिएको छ। साथै, कार्यक्रमको अर्को उद्देश्य विद्यालयमा जलवायु परिवर्तनका प्रभावहरू घटाउन वातावरणमैत्री अभ्यासहरूको अवलोकन र प्रोत्साहन गर्नु पनि रहेको शाखाले जनाएको छ।
कार्यक्रमले विद्यार्थीहरूलाई ज्ञानमूलक प्रतिस्पर्धा, सांस्कृतिक प्रस्तुतिहरू र वैज्ञानिक सोचतर्फ उन्मुख गराउँदै ताँजाकोट गाउँपालिकाको शैक्षिक वातावरणलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।