६, कार्तिक २०८२
जुम्ला ।जुम्लामा पछिल्ला वर्षहरूमा सम्बन्ध विच्छेदका घटनामा तीव्र वृद्धि देखिएको छ। जिल्ला अदालत जुम्लाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ६९ वटा सम्बन्ध विच्छेदका उजुरी दर्ता भएका थिए । तीमध्ये ४८ वटा फछर्याैट भएका थिए भने २१ वटा मुद्दा प्रक्रियामा रहेका थिए।अर्को वर्ष — २०८१/०८२ मा — सो संख्या बढ्दै ७४ पुगेको अदालतले जनाएको छ। तीमध्ये ४८ वटा फछर्याैट र २६ वटा अझै प्रक्रियामा छन्। चालु आर्थिक वर्षको हालसम्म मात्र ४३ वटा नयाँ उजुरी दर्ता भइसकेका छन् । तीमध्ये १५ वटा फछर्याैट भइसकेका छन् भने २८ वटा मुद्दा विचाराधीन छन्।जिल्ला अदालतका तहसिलदार हरिकृष्ण तिमिल्सेना भन्छन्, “गत दुई आर्थिक वर्षको तुलनामा सम्बन्ध विच्छेदका उजुरी ह्वातै बढेका छन्। नयाँ मुलुकी देवानी संहिता लागू भएपछि सम्बन्ध विच्छेद प्रक्रियामा सहजता आएसँगै मुद्दाको संख्या उल्लेख्य रूपमा बढेको हो।”मुलुकी देवानी संहिता २०७४ को भाग ३ (पारिवारिक कानुन), परिच्छेद ३ अनुसार अब पति–पत्नी दुबै पक्षले असन्तुष्ट भएको अवस्थामा सम्बन्ध विच्छेदको निवेदन दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। यस कानुनी व्यवस्थापछि पुरुषहरू पनि अदालत पुगेका छन् ।तर अदालतको तथ्याङ्क अनुसार महिलाहरूको संख्या अझै बढी छ। कानुनी सचेतना, आत्मनिर्भरता र सामाजिक परिवर्तनका कारण महिलाहरू अब आफ्नो अधिकारका विषयमा खुलेर बोल्न थालेका छन्।अदालतमा दर्ता भएका मुद्दाहरूको विश्लेषण गर्दा २० देखि ३५ वर्षका दम्पतीहरूबीच सम्बन्ध विच्छेदको दर बढी रहेको देखिन्छ।
प्रारम्भिक उमेरमा प्रेम विवाह गर्ने, तर त्यसलाई व्यवस्थापन गर्न नसक्ने प्रवृत्तिले सम्बन्ध प्रगाढ हुन नपाउँदै टुट्ने गरेको हो।अदालत प्रशासनका अनुसार, “अधिकांश उजुरी प्रेम विवाह गरेका जोडीका हुन्छन्। केटाले बाँड्ने ठूला सपना र ती पूरा नहुँदा सिर्जने आपसी असन्तुष्टिले सम्बन्ध विच्छेदसम्म पुर्याउने गरेको छ।”घरेलु हिंसा, आर्थिक समस्या, आपसी अविश्वास र सानातिना झगडा ठूलो विवादमा रूपान्तरण हुनुले पनि सम्बन्ध विच्छेदका घटना बढाएको बताइन्छ।स्थानीय कानुन व्यवसायीहरूको भनाइमा, “महिलाहरू अहिले कानुनी रूपमा सचेत हुँदै गएका छन् । उनीहरू अब अन्याय सहेर बस्नेभन्दा कानुनी बाटो रोज्छन् । यही कारण सम्बन्ध विच्छेदका उजुरीमा महिलाको संख्या बढ्दै गएको हो।
”जुम्लामा सम्बन्ध विच्छेदका घटना निरन्तर बढ्नु केवल कानुनी सहजतामात्र होइन, सामाजिक र मानसिक तयारीको कमी पनि हो। प्रेममा सुरु भएका धेरै सम्बन्ध व्यवस्थापन र सहकार्यको अभावमा अदालतको ढोका ढकढक्याउन पुगिरहेका छन् ।सामाजिक सचेतना, सम्बन्ध सुदृढीकरणका प्रयास र आपसी समझदारीको विकास नभएसम्म सम्बन्ध विच्छेदको दर घट्ने सम्भावना न्यून देखिन्छ।