नेपालगन्ज नाकाबाट जडिबुटी निर्यातमा ११८ प्रतिशत वृद्धि: व्यवसायी र किसानमा उत्साह

  • नमस्ते कर्णाली

  • ७, कार्तिक २०८२
    बाँके । जडिबुटी निर्यातका लागि प्रमुख केन्द्रको रुपमा परिचित नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो तीन महिनामै जडिबुटी निर्यात ११८ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि पछिल्ला वर्षहरूमा जडिबुटी व्यापारमा आएको सबैभन्दा ठुलो सकारात्मक परिवर्तनका रूपमा हेरिएको छ।

    नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार आर्थिक वर्ष २०८२/०८३ को साउन, भदौ र असोज महिनामा मात्र पाँच लाख १२ हजार ९६७ किलो जडिबुटी निर्यात गरिएको छ, जसको मूल्य १५ करोड २२ लाख ४० हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा मात्र तीन लाख ५९ हजार ६६० किलो जडिबुटी ६ करोड ९९ लाख ४४ हजार रुपैयाँको निर्यात भएको थियो।

    उहाँले भन्नुभयो, “यो वर्षको शुरुमै जडिबुटी निर्यातमा ११८ प्रतिशतले वृद्धि हुनु उत्साहजनक संकेत हो। यसले बाँके र आसपासका जडिबुटी व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउनेछ।”

    भन्सार कार्यालयका अनुसार जडिबुटीसँगै खयर कत्था, एसेन्सियल आयल, अदुवा सुठो, खयर कच्छ, पिना र टायलजस्ता वस्तुको निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको छ।

    नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माका अनुसार विगत केही वर्षयता विभिन्न कारणले घट्दै गएको जडिबुटी निर्यात यस वर्ष पुनः तीव्र गतिमा वृद्धि हुन थालेको छ। उहाँले भन्नुभयो, “जडिबुटी निर्यातमा आएको यो सुधारले देशको आर्थिक अवस्थालाई समेत सुदृढ बनाउन मद्दत गर्नेछ।”

    संघका पूर्व अध्यक्ष तथा व्यवसायी मोहम्मद याकुब अन्सारीका अनुसार भारतलगायतका देशहरूबाट जडिबुटी र सम्बन्धित वस्तुहरूको माग तीव्र रुपमा बढ्दै गएको छ। उहाँले भन्नुभयो, “आर्थिक वर्षको सुरुवातमै माग बढेकाले आगामी महिनाहरूमा निर्यात अझै बढ्ने प्रक्षेपण गरिएको छ। यसले किसानदेखि व्यवसायी सबैलाई राहत र आत्मविश्वास दिएको छ।”

    जडिबुटी निर्यातमा देखिएको यो उल्लेखनीय वृद्धि पश्चिम नेपालका किसान र व्यवसायीहरूका लागि आशाको किरण बनेको छ — जसले देशको प्राकृतिक स्रोतबाट टेकेको हरियो अर्थतन्त्रलाई अझ मजबुत बनाउने संकेत दिएको छ।

     

  • ८ कार्तिक २०८२, शुक्रबार १३:०४ प्रकाशित

  • Nabintech