१७ वर्षको साधनाले जन्मायो ‘खसिया आखार’ : जुम्लाका रमानन्द आचार्यद्वारा नेपाली भाषाको जननी ‘खस भाषा’को पहिलो शब्दकोष प्रकाशित

  • नमस्ते कर्णाली

  • १०, कार्तिक २०८२
    जुम्ला।कर्णालीको ऐतिहासिक थलो जुम्लामा ७९ वर्षीय रमानन्द आचार्यले असम्भवजस्तो ठानिएको कार्य सम्पन्न गरेका छन्। उनले १७ वर्षको अथक परिश्रमपछि ‘खसिया आखार’ नामक शब्दकोष तयार गरी नेपाली भाषाको जननी ‘खस भाषा’लाई पुनर्जीवन दिएका छन्।

    १३ सय पृष्ठ र ४० हजार शब्द समेटिएको यो शब्दकोष तयार पार्न उनले आफ्नो जीवनको दुई दशकजस्तै समय अर्पण गरे। खस भाषाको संरक्षण र लिपिबद्धतामा केन्द्रित यो कृति अब कर्णालीको भाषिक र सांस्कृतिक पहिचानको महत्वपूर्ण दस्तावेज बन्न पुगेको छ।

    आचार्य सन् २०६५ सालदेखि नै जिल्ला समन्वय समिति जुम्लाको एउटा सानो कोठामा बसेर ‘खसिया आखार’ लेखिएको बोर्डमुनि दिनरात खस शब्द संकलनमा जुटेका थिए। कतिले उनलाई ‘असम्भव सपना पछ्याउने वृद्ध’ भने, कतिले उनको लगनको तारिफ गरे। तर, अन्ततः उनले आफ्नो जीवनभरको सपना पुरा गरे।

    ‘नेपाली भाषाको उद्गम थलो जुम्लाको खस भाषालाई शब्दकोषमा सुरक्षित गर्न पाउनु मेरो जीवनको ठूलो गर्व हो,’ आचार्य भन्छन्, ‘अब भावी पुस्ताले यसैका आधारमा नयाँ खोज र अध्ययन गर्नेछन्।’

    शब्द संकलनको यात्रामा उनले हुम्ला, मुगु, डोल्पा, कालिकोट र जुम्लाका गाउँबस्ती हिँडेर शब्दहरु सङ्कलन गरे। सडक, सुविधा र बजेटको अभाव हुँदाहुँदै पनि उनले एक्लै वर्णानुक्रमदेखि अर्थ्याउनेसम्मको काम गरे। उनले कम्प्युटर चलाउन नसके पनि टाइपिस्टमार्फत सम्पूर्ण पाण्डुलिपि तयार गराए।

    शब्दकोष प्रकाशनमा उनको सारथी बनेको हो — कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय। मन्त्रालयले प्रति प्रति एक हजार रुपैयाँ सहयोग गरेपछि पुस्तक छापिएको हो। यद्यपि, एक प्रति छाप्न करिब एक हजार पाँच सय रुपैयाँ लाग्ने भएकाले उनको खर्च अझै पूरा भएको छैन।

    ‘खसिया आखार’ शब्दकोषलाई चार उपभाषिकामा विभाजन गरिएको छ —
    १️⃣ दराली भाषिका: सिञ्जा, पाँचदरा र ८०दराका शब्दहरू
    २️⃣ त्रिविकोटी भाषिका: चौधबीस र डोल्पाली शब्दहरू
    ३️⃣ रासकोटी भाषिका: कालीकोटमा प्रचलित शब्दहरू
    ४️⃣ मुहु भाषिका: मुगु र हुम्लामा बोलिने शब्दहरू

    खस भाषाका मौलिक शब्द मात्र समावेश गरिएका छन्, आयातित शब्दहरू छुट्याइएको आचार्य बताउँछन्। उनका अनुसार यो शब्दकोषले १८४६ साल पूर्वको खस राज्यको सांस्कृतिक, ऐतिहासिक र भाषिक पहिचान जीवित राख्ने छ।

    ‘खस भाषा र सभ्यता लोप हुने डर मेटियो,’ आचार्य भन्छन्, ‘अब यो शब्दकोष भावी पुस्ताका लागि अध्ययन र अनुसन्धानको कोसेढुंगा बन्नेछ।’

     

     

  • ११ कार्तिक २०८२, सोमबार १०:०९ प्रकाशित

  • Nabintech