१४, कार्तिक २०८२
बाँके ।जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त नेकपा (एमाले) बाँके जिल्ला कार्यालय भवन पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । पार्टी कार्यकर्ता र शुभेच्छुकको सहयोगमा पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको हो ।
एमाले बाँकेका उपाध्यक्ष तथा भवन पुनर्निर्माण समितिका संयोजक रत्न खत्रीका अनुसार भवन पुनर्निर्माण अब दुई–तीन दिनभित्र पूरा हुनेगरी अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो, “पार्टी कार्यकर्ता र शुभेच्छुकको सहयोगले नै पुनः हाम्रो कार्यालय जीवन्त बन्न लागेको हो।”
करिब दुई दशकअघि तत्कालीन भेरी अञ्चल पार्टी कार्यालयका रूपमा निर्माण गरिएको दुई तले भवन जेन्जी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।
जिल्ला अध्यक्ष निरक गुरुङका अनुसार प्राविधिक मूल्याङ्कनपछि भवन प्रयोग गर्न सकिने निष्कर्ष आएपछि १५ लाख ५१ हजार रूपैयाँको लागत अनुमान (स्टिमेट) तयार गरी पुनर्निर्माण सुरु गरिएको हो । उहाँका अनुसार पार्टी कमिटी र कार्यकर्ताको सक्रियता तथा सहयोगकै कारण एक महिनाभित्रै भवन पुनर्निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।
भवन पुनर्निर्माणका लागि कार्यकर्ता र शुभेच्छुकबाट सहयोग आउने क्रम निरन्तर जारी रहेको एमाले बाँकेले जनाएको छ ।










