१४, कार्तिक २०८२
सुर्खेत ।भदौ २३ र २४ गते देशभर एकैपटक फैलिएको ‘जेन–जी आन्दोलन’ले सत्ता र विद्यमान व्यवस्थाभित्रको गलत अभ्यासप्रति युवाहरुमा चरम असन्तुष्टि देखायो । सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र बेथितिविरुद्ध स्वस्फुर्तरुपमा सडकमा उत्रिएको जेन–जी समूहमाथी राज्यले चरम दमनको नीति लियो । २३ भदौमा सरकारले जेन–जीमाथि मच्चाएको बर्बरता १९ जना कलिला युवाले ज्यान गुमाए ।
दमनको विरोधमा २४ भदौमा सडकमा उत्रिएको जेन–जी समूहले अन्ततः राजनीतिक उथलपुथल नै ल्याइदिएको छ । आन्दोलनका कारण दुई ठुला दल मिलेर बनेको सरकारले घडा टेकेको छ । जेन–जीहरुको चाहाना बमोजिम पूर्वप्रधानन्यायधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सकार बनेको छ । कार्की नेतृत्वको सरकारलाई २१ फागुनमा निर्वाचन गराउने म्याण्डेट छ । जेन–जी आन्दोलन संघीय राजधानी काठमाडौंमा मात्र सीमित थिएन ।
यो आन्दोलनले कर्णाली प्रदेशको राजधानी सुर्खेतसँगै कर्णालीका १० वटै जिल्लामा युवाहरुले सडक तताएका थिए । तिनै युवाले ‘सुशासन चाहियो, भ्रष्टाचार बन्द गर’ भन्ने आवाज मात्रै होइन, अब ‘कर्णालीको प्रतिनिधित्व पनि समान चाहियो’ भन्ने आवाजलाई बलियो बनाउँदै लगेका छन् । यही आन्दोलनमा अग्रपंक्तिमा उभिएका थिए—प्रकाश खड्का, जो खेलकुद, नेतृत्व र सामाजिक चेतनाको बिम्ब बनेर कर्णालीका युवाको प्रतिनिधित्व गर्दै आएका छन् । २०५९ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा जन्मेका प्रकाश बाल्यकालदेखि नै अनुशासन र नेतृत्व क्षमतामा अब्बल थिए । यज्ञपिस बोर्डिङ स्कुलबाट एसएलसी र एसओएस हर्मन माइनर स्कुलबाट प्लस–टु उत्तीर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा स्नातक गरेका छन् । खड्का खेलकुदमार्फत राष्ट्रिय पहिचान बनाउने सपना बोकेका युवा हुन् ।
कराँते खेलमा पाँचवटा अन्तर्राष्ट्रिय स्वर्णपदक जितेका उनी बंगलादेश, श्रीलंका, दुवई र भारतलगायत मुलुकमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । २०६५ सालदेखि सक्रिय खेलाडीको रूपमा उनले अहिले राष्ट्रिय गोजुरियो कराँते संघ कर्णाली प्रदेशका प्रमुखको जिम्मेवारी सम्हालेका छन् । उनी केवल खेलकुदमा मात्र होइन, युवा सञ्जालमार्फत व्यक्तित्व र नेतृत्व विकासका साथै युवाहरुमा सीप विकासका क्षेत्रमा पनि परिचित छन् । २०७५ सालमा वीरेन्द्रनगर वडा स्तरिय युवा सञ्जालका अध्यक्ष बनेका उनी, त्यसपछि नगर अध्यक्ष (२०७६–०७७) र कर्णाली प्रदेश युवा सञ्जालका अध्यक्ष (२०७८–२०८० असार) हुँदै अघि बढे ।
विगत सात वर्षदेखि उनले युवाको सशक्तिकरणमा कर्णालीका १० वटै जिल्लाका ४७ भन्दा बढी स्थानीय तहमा पुगेर तालिम, गोष्ठी र प्रशिक्षण सञ्चालन गरेका छन् । ‘कर्णालीका युवामा नेतृत्व गर्ने क्षमता छ, ऊर्जा छ, तर अवसर छैन,’ खड्का भन्छन्, ‘हामीले आफूलाई मात्रै होइन, प्रणालीलाई पनि परिवर्तन गर्न सक्ने सोच राखेका छौं । अवसर नदिएर क्षमता नाप्ने सोचको अन्त्य हुनुपर्छ ।’ सदियौंदेखि पुछारमा पारिएको कर्णालीलाई पछि पारेर नभई निर्णायक तहमा सँगै लैजानु पर्ने उनको धारणा छ ।
जेन–जी आन्दोलन र कर्णालीको आवाज
भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’मा खड्का कर्णाली प्रदेशतर्फबाट केन्द्रीय प्रतिनिधि थिए । आन्दोलनको एजेन्डा थियो—सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध आवाज उठाउने । सुर्खेतदेखि हुम्लासम्मका सडकहरूमा युवा ओर्लिँदा, उनीहरूको आवाज काठमाडौंसम्म गुञ्जिएको थियो । तर, आन्दोलनको क्रममा केही दुःखद घटनाहरू पनि भए ।
वीरेन्द्रनगर–२, का सन्तोष बोहोरा प्रहरीको रबरको गोली लागेर दुवै आँखा गुमाएका छन् । अहिले उनको उपचार नेपालगञ्जमा भैरहेको छ । आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमाथी व्यापक तोडफो हुनु दुखद् थियो । आन्दोलनपछि अहिले मुलुक अन्तरिम राजनीतिक व्यवस्थातर्फ उन्मुख भइरहेको सन्दर्भमा कर्णालीका युवाहरूको आवाज फेरि उठेको छ ।
‘अब हाम्रो आवाज सुन्ने मात्र होइन, हामीलाई पनि नेतृत्वमा देखिनु पर्छ । जेन–जी सरकारमा हरेक वर्ग समुदाय र भुगोलको प्रतिनिधित्व हुनुपर्छ भन्ने कर्णालीको आवाज हो’, खड्का भन्छन् । युवाहरूको नेतृत्व, संगठन र आन्दोलनमा अग्रणी भूमिका खेलेका खड्काको नाम कर्णालीतर्फबाट मन्त्रीको चर्चामा आउनु आश्चर्यको विषय होइन । उनले भनिरहेका छन्, ‘हामीले आन्दोलन सडकमा मात्रै होइन, प्रणालीभित्र पनि निरन्तरता दिन चाहन्छौं । कर्णालीको प्रतिनिधित्व सत्ता संरचनामा सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनी कर्णालीलाई समान अवसर, समान व्यवहार भएको हर्ने चाहन्छन् ।
‘कर्णालीका युवाहरूले देशका अन्य क्षेत्रका युवासँग बराबरी अवसर खोजिरहेका छन् । हामीलाई विश्वास छ, आन्दोलनको ऊर्जा अब नीतिगत रूपान्तरणमा परिणत हुनुपर्छ,’ उनले भने । खड्का र उनका सहकर्मीहरूले देखाएको नेतृत्व र त्यागले कर्णालीको युवाशक्ति देशको मुलधारे राजनीतिमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । प्रकाश जस्ता कर्णालीका हजारौ जेन–जी युवाहरुले भनिरहेका छन्, ‘हामी अब दर्शक होइन, निर्णयकर्ता बन्न चाहन्छौं










