१६, कार्तिक २०८२
बर्दिया ।दसैं र तिहारको समयमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न २ हजार ८ सय ८३ आन्तरिक र बाह्य पर्यटक भित्रिएका छन्। तीमध्ये सबैभन्दा बढी आन्तरिक पर्यटक रहेको निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए।
उनका अनुसार सो अवधिमा नेपाली २ हजार १ सय ९३, विदेशी ५ सय ५८ र सार्क मुलुकबाट १ सय ३३ जना पर्यटकले बर्दियाको वन्यजन्तु अवलोकन गरेका छन्।
आर्थिक वर्ष ०८१/०८२ मा कुल २८ हजार ६८ जना स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए, जुन अघिल्लो वर्षको तुलनामा करिब २ हजार बढी हो।
मुख्यतः बाघका लागि प्रसिद्ध बर्दिया राष्ट्रिय निकुञ्ज देशी र विदेशी दुवै पर्यटकका लागि प्रमुख गन्तव्य बन्दै आएको छ। निकुञ्जका अधिकृत पौडेलका अनुसार निकुञ्जमा हाल करिब १ सय २५ बाघ, १ सय २० हात्ती र ३८ गैंडा रहेका छन्। तीमध्ये केही गैंडा सीमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षसम्म पुगेका छन्।
बर्दिया टाइगर रिसोर्टका सञ्चालक धर्मराज घिमीरेले राजनीतिक अस्थिरताका कारण विदेशी पर्यटकको करिब ४० प्रतिशत बुकिङ रद्द भएको बताए। “दसैं–तिहारको मौसम भएकाले नेपाली पर्यटक सन्तोषजनक छन्,” उनले भने, “विदेशी आगन्तुक घटे पनि आन्तरिक पर्यटकले वातावरण उत्साहपूर्ण बनाइरहेका छन्।”
पर्यटन विकास मञ्च, बर्दियाका अध्यक्ष कृष्णप्रसाद भट्टराईले सार्क मुलुकबाट आउने पर्यटकको संख्या केही बढेको बताए। उनका अनुसार, “अपेक्षाकृत पर्यटक आवागमन कम छ, तर हिउँदे मौसम सुरु भएपछि विदेशी पर्यटकको आगमन तीव्र हुने विश्वास लिएको बताए।”
निकुञ्जको मुख्य प्रवेशद्वार ठाकुरद्वारास्थित हो, जहाँ पर्याप्त होटल, यातायात र होमस्टे सुविधाले पर्यटकको सहज बसोबास सुनिश्चित गरेको छ। निकुञ्ज क्षेत्र वरिपरि ३० भन्दा बढी होटल र २० होमस्टे सञ्चालनमा छन्।
यहाँ आउने अधिकांश पर्यटकले जिप सफारी र पैदल भ्रमणमार्फत वन्यजन्तु अवलोकन गर्ने गर्छन्। निकुञ्ज क्षेत्रका आकर्षणमा गोही र घडीयाल प्रजनन केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, दृष्टिविहीन गैंडा र समस्याग्रस्त बाघको खोर पनि पर्छ।
निकुञ्ज बाहिरका स्थलहरू — खाता जैविक मार्गको डल्ला र पत्थरबोझी लगायतका क्षेत्र पनि हाल आन्तरिक पर्यटकका नयाँ रोजाइ बन्दै गएका छन्।
एक आन्तरिक पर्यटक सन्तोष चौधरी भन्छन्, “दसैंको बिदामा बाघ र गैंडा हेर्ने सौभाग्य मिल्यो, परिवारसँग रमाइलो अनुभव भयो।”
त्यसैगरी भारतबाट आएका पर्यटक राजेश शर्मा ले भने, “बर्दियाको प्राकृतिक सौन्दर्य र बाघ हेर्ने मौका अपूर्व लाग्यो, नेपाल फर्किन चाहना बढ्यो।”
दसैं–तिहारको अवधीमा देखिएको पर्यटकको यो उपस्थिति बर्दिया राष्ट्रिय निकुञ्जका लागि आगामी हिउँदे पर्यटन सिजनको सकारात्मक संकेतका रूपमा लिइएको छ।











