हिमाली जिल्ला हुम्लाको दक्षिण भेगमा पर्ने स्थानीय तह हो, ताँजाकोट गाउँपालिका । गाउँपालिकाले स्थापना कालदेखि शैक्षिक सुधार र खेलकुद प्रतियोगितालाई प्राथमिकता दिदैँ आएको छ । चालू आर्थिक वर्षमा समेत शैक्षिक विकास र खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि गाउँपालिकाले मुख्य प्राथमिकता नै दिएको छ । सोही योजनालाई कार्यान्वयनका लागि ‘शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार, ताँजाकोट विकासको मूल आधार भन्ने मूल नारासहित’ शिक्षा सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह सुरु गरेको छ ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगिता एक सातासम्म सञ्चालन हुनेछ । ताँजाकोट गाउँपालिका वडा नम्बर ३ स्थित श्री धर्मोदय माध्यमिक विद्यालय, चाखुरेमा सञ्चालन भएको प्रतियोगिताको शुत्रबार एक भव्य समारोहका बीच ताँजाकोट गाउँपालिका अध्याक्ष लालकेश जैसीले उद्घाटन गरे । उद्घाटनमा बोल्दै अध्यक्ष जैसीलै प्रतियोगिता गाउँपालिकामा शैक्षिक र खेलकुद विकासको कोशेढुंगा सावित हुने बताए ।

उनका अनुसार कार्यक्रममा गाउँपालिकाभरीका प्रतिभाहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्नेछन् । प्रतियोगिताले नयाँ र क्षमतावान प्रतिभा जन्माउने उद्देश्य रहेको उनले बताए । कार्यक्रमले विद्यालयबीच सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नेछ । यसले आपसी एकता र शैक्षिक सुधारमा टेवा पुग्नेछ ।’ अध्यक्ष जैसीले भने । कार्यक्रमले विद्यार्थीहरूलाई ज्ञानमूलक प्रतिस्पर्धा,साँस्कृतिक प्रस्तुतिहरू र वैज्ञानिक सोचतर्फ उन्मुख गराउँदै ताँजाकोट गाउँपालिकाको शैक्षिक वातावरणलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको उनले बताए । शैक्षिक सप्ताह कार्यक्रम विद्यार्थी स्तरीय मुल्याङ्कनसहित विद्यालयको समेत मुल्याङ्कन गरी विद्यालयलाई पुरस्कृत गरिने उनले बताए । सप्ताहव्यापी उक्त कार्यक्रम ताँजाकोट गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले आयोजना गरेको हो ।

दर्जनौ विधामा प्रतिष्पर्धा, आकर्षक पुरस्कारको व्यवस्था
शुक्रबारबाट सुरु भएको कार्यक्रम श्री धर्मोदय माध्यमिक विद्यालय, चाखुरेमा सञ्चालनमा सञ्चालन हुनेछ । कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयको सहभागिता रहेको छ । शिक्षा शाखा प्रमुख जयरुद्र ढकालका अनुसार कार्यक्रममा दर्जनौ विधा समावेश छन् । अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलापहरु र जलवायू परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्न विद्यालयमा वातावरणीय अनुकूलताको अवलोकन लगायतका मुख्य कार्यक्रम रहेको उनले बताए । आधारभूत तह कक्षा १ देखि ३ स्तरीय १३ वटा कार्यक्रम हुनेछन् । जसमा हाजिरी जवाफ प्रतियोगिता, चित्रकला, गणितीय दौड, अनुलेखन, हस्तलेखन, हिज्जे, श्रुतिलेखन प्रतियोगिता लगायत रहेका छन् । आधारभूत तह कक्षा ४ देखि ५ सम्म पनि १३ वटै कार्यक्रम रहेका छन् । आधारभूत तह कक्षा ६ देखि ८ सम्म कूल १२ वटा कार्यक्रम रहेको शाखाले जनाएको छ । हाजिरी जवाफ, हिज्जेसहित नृत्य, नेपाली व्याकरण र निबन्ध लेखन प्रतियोगिता समावेश छन् । कक्षा ९ र १० मा कूल १५ वटा कार्यक्रम रहेका छन् । जसमा हाजिरी जवाफ, निबन्ध लेखन, वादविवाद, इंलिस स्पिच प्रतियोगिता, विज्ञान सामग्री प्रदर्शनी, एकल गायन कम्प्युटर सीप परिक्षण इंलिस ग्रामर कम्पिटिसन र समृद्ध ताँजाकोटको परिकल्पनाको चित्रण प्रस्तुती रहेको छ ।
तिनै तहका विद्यालयका विद्यार्थीहरूलाई समावेशी सहभागिता सुनिश्चित गर्न प्रत्येक प्रतिस्पर्धात्मक विधामा कम्तीमा एक जना छात्रा सहभागिता अनिवार्य गरिएको छ । साथै,कार्यक्रमको अर्को उद्देश्य विद्यालयमा जलवायु परिवर्तनका प्रभावहरू घटाउन वातावरणमैत्री अभ्यासहरूको अवलोकन र प्रोत्साहन गर्नु पनि रहेको शाखाले जनाएको छ । यस प्रतियोगिताबाट समग्र ः कार्यक्रमहरुको विजयी विद्यार्थीहरु र कार्यक्रमहरु प्रतिशतको आधारमा प्रथम हुने विद्यालयलाई १ लाख, द्धितीय हुनेलाई ७५ हजार, तृतीय स्थान हासिल गर्नेलाई ५० हजार र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
‘यो कार्यक्रम ताँजाकोटको पहिचान हो’

शिक्षा सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम हाम्रो आफ्नै मौलिक कार्यक्रम हो । प्रतिभा पहिचान कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ । कार्यक्रमले गाउँपालिकामा लुकेर रहेका प्रतिभाले आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । सप्ताहव्यापी रुपमा सञ्चालन हुने कार्यक्रमलाई भव्य, सभ्य र शान्तिपूर्ण बनाउन सबैको भूमिका महत्वपूर्ण छ ।
लालकेश जैसी
अध्यक्ष
ताँजाकोट गाउँपालिका, हुम्ला
‘ताँजाकोट चिनाउने अवसर हो’

यो शैक्षिक कार्यक्रम हो । यतिमात्रै होइन यसले विद्यालयमा जलवायु परिवर्तनका प्रभावहरू घटाउन वातावरणमैत्री अभ्यासहरूको अवलोकन र प्रोत्साहन गर्नेछ । समृद्ध ताँजोकोटको नारा सफल पार्न विद्यार्थीको मार्गचित्रसमेत प्रस्तुत गरिनेछ । जुन हाम्रो भविष्यको आवाजसमेत हुनेछ । यसमा गाउँपालिकाले गरेको लगानीको प्रतिफलसमेत थाहा हुनेछ । विद्यालयहरुबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गर्नेछ ।
नर रावत
प्रमुख प्रशासकीय अधिकृत
ताँजाकोट गाउँपालिका, हुम्ला
‘यो ताँजाकोटको शैक्षिक मेला हो’

शिक्षा सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम विद्यार्थीहरूलाई ज्ञानमूलक प्रतिस्पर्धा, साँस्कृतिक प्रस्तुतिहरू र वैज्ञानिक सोचतर्फ उन्मुख गराउने कार्यक्रम हो । ताँजाकोट गाउँपालिकाको शैक्षिक वातावरणलाई अझ सशक्त बनाउने अपेक्षा छ । यो ताँजाकोटको शैक्षिक मेलासमेत हो । यसले हाम्रो शैक्षिक सुधारमा योगदान गर्ने विश्वास लिएका छौँ ।
जयरुद्र ढकाल
शिक्षा शाखा प्रमुख
ताँजाकोट गाउँपालिका, हुम्ला










