१७, कार्तिक २०८२
बाँके ।दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिप–२०२५ को उपाधि ललितपुरस्थित सगरमाथा स्वीमिङ क्लबले जितेको छ। नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा सम्पन्न प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंकसहित प्रथम स्थान हासिल गरेको हो।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अंगुर जिसीले विजेता क्लबलाई ट्रफी हस्तान्तरण गरेका थिए।
प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ वटा पौडी इभेन्टहरूमा प्रतिस्पर्धा गर्दै ललितपुरको जेम्स स्कुलले १३५ अंकसहित दोस्रो स्थान प्राप्त गर्यो भने कोहलपुरको शिखा एकेडेमीले ५२ अंकसहित तेस्रो स्थानमा रह्यो।
अन्य विद्यालय तथा टिममध्ये लिटिल एञ्जेल्स स्कुल ललितपुरले ४६ अंक, आदर्श माध्यमिक विद्यालय नेपालगन्जले ३५, कोशी प्रदेशले २०, काठमाडौंको युनिग्लोब स्कुलले ११, स्प्रिङडेल स्कुल नेपालगन्जले १०, राई स्कुल काठमाडौंले ९, नेपालगन्ज स्विमिङ क्लब बाँकेले ८ र बागेश्वरी एकेडेमी कोहलपुरले ४ अंक प्राप्त गरेको क्षेत्रीले जानकारी दिए।
यस विजयीमा क्लबका अरेक कर्माचार्यले एक्लैले ७ स्वर्ण पदक जित्दै पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए भने रिजा अवालेले ५ पदक जित्दै महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरिन्। दुवै उत्कृष्ट खेलाडीलाई जनही पाँच–पाँच हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
देशभरबाट करिब १५० जना खेलाडीले सहभागिता जनाएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजक नेपालगन्ज स्वीमिङ क्लब बाँकेका अध्यक्ष केशवराज न्यौपानेले बताए। उनका अनुसार छोटो समयमै राष्ट्रिय स्तरको प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सक्नु क्लबका लागि गौरवको विषय भएको छ। उनले आगामी दिनमा अन्तर्राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको बताए।
त्यसैगरी उनले नेपाल पौडी संघ, राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् लगायत तीनै तहका सरकारलाई पौडी खेललाई प्राथमिकतामा राख्न आग्रह गरे। क्लबले स्थानीय स्तरमा पौडी प्राविधिक उत्पादन गरेर खेलको दीर्घकालीन विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले नेपालगन्ज स्वीमिङ क्लबसँग सहकार्य गरेर यस क्षेत्रमा पौडीको विकासमा लाग्ने र निकट भविष्यमा विभागीय टिमसहितको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने घोषणा गरे।
पदक विजेताका लागि पौडी पोखरी निःशुल्क
नेपालगन्ज रंगशाला परिसरमा रहेको पौडी पोखरीलाई दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिप–२०२५ का पदक विजेता खेलाडीका लागि निःशुल्क खुला गरिने भएको छ।
नेपाल पौडी संघ, नेपालगन्ज स्वीमिङ क्लबका पदाधिकारी र सदस्यबीच भएको छलफलपछि मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख महेश चन्दले उक्त घोषणा गरेका हुन्। उनले पौडी खेलको विकासका लागि पदकधारी खेलाडीलाई पोखरी निःशुल्क प्रयोग गर्न दिने र खेलाडीहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।
नेपाल पौडी संघले पनि नेपालगन्जमा पौडी खेलको प्राविधिक सहयोग र पूर्वाधार विकासमा सहकार्य गर्ने घोषणा गरेको छ।










