१७, कार्तिक २०८२
 बाँके ।बाँके जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि प्रहरीले कडाइका साथ कारबाही तीव्र पारेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्म ६ हजार ४२५ वटा सवारीसाधनलाई कारबाही गरी ४९ लाख ४३ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार ट्राफिक प्रहरी नागरिकप्रति जिम्मेवार र सचेत छ । “हामी केवल राजस्व सङ्कलन होइन, सडक सुरक्षा र सचेतना अभिवृद्धि पनि हाम्रो प्राथमिकता हो,” उनले बताए ।

उनका अनुसार जिल्लाभर विभिन्न स्थानमा ३१६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ३० हजार ८७१ जना नागरिकलाई प्रत्यक्ष लाभान्वित गरिएको छ । त्यस्तै, चालु आर्थिक वर्षको हालसम्म बाँकेमा ३५१ वटा साना ठूला सवारी दुर्घटना भएका छन्, जसमा १५ जनाको मृत्यु र ६४७ जना घाइते भएका छन् ।
दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले हाल ‘ट्राफिक नियम उल्लङ्घनविरुद्ध विशेष कारबाही अभियान’ सञ्चालन गरेको छ । सो अभियान अन्तर्गत कात्तिक ७ देखि १५ गतेसम्म मात्र ३८ वटा यात्रुवाहक इभी गाडी र १९ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक जीवराज थापा क्षेत्रीका अनुसार ती इभी गाडीहरू नम्बर प्लेट परिवर्तन गरी यात्रु ओसारपसारमा प्रयोग गरिएको पाइएको थियो । त्यस्तै, स्वरूप परिवर्तन (मोडिफाइ) गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरू पनि नियन्त्रणमा लिइ ट्राफिक जरिवाना गरिएको छ ।
“ध्वनि प्रदूषण र स्वरूप परिवर्तनजन्य सवारीसाधनलाई अब सहन गरिँदैन,” क्षेत्रीले भने, “सडकमा अनुशासन र शान्ति कायम गर्न प्रहरीले शून्य सहनशीलता नीति अपनाएको छ ।” ट्राफिक प्रहरी कार्यालय बाँकेले सबै चालक र सवारी धनीलाई सडक नियमको पूर्ण पालना गर्न अनुरोध गर्दै सडक सुरक्षा प्रति जिम्मेवार बन्न आह्वान गरेको छ ।
         









