१८, कार्तिक २०८२
बाँके ।बाँकेको कोहलपुर नगरपालिका–१० रामनगरमा रहेको जीवनज्योती स्कुलका कक्षा ११ र १२ का व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूले सामाजिक दायित्व अन्तर्गत नेपालगञ्जस्थित नीलसागर सेवा आश्रममा पुगेर वृद्ध आमाबुबालाई भोजन सेवा प्रदान गरेका छन्।

विद्यार्थीहरूले आफ्नै खाजा खर्च बचत गरेर जम्मा रु. १८,८९० आर्थिक सहयोग आश्रमलाई हस्तान्तरण गरेका विद्यालयका शिक्षक प्रकाश कुवरले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीहरूले “अरूको दुःखमा मलम लगाउने अवसर पाउँदा आफैंलाई सन्तोष र खुसी महसुस गरेको” बताउनुभएको छ।
विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा सामाजिक भावनाबाट प्रेरित भई सहयोग गरेको बताउँदै यस्ता कार्यले उनीहरूमा सेवाभाव, सहानुभूति र जिम्मेवारीको भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले थप्नुभयो, “विद्यालयको उद्देश्य केवल शैक्षिक ज्ञान दिनु मात्र होइन, मानवीय मूल्य र समाजप्रतिको कर्तव्य बोध गराउनु पनि हो।”

नीलसागर सेवा आश्रमकी सरक्षक डा. सरिता नीलसागरले जीवनज्योतीका विद्यार्थी र शिक्षकप्रति धन्यवाद ज्ञापन गर्दै भन्नुभयो,“खुला आकाशलाई छाना र धरतीलाई बिछ्यौना बनाएर बस्न बाध्य मानव तथा असहाय बालबालिकाहरूको संरक्षण र सेवा गर्ने हाम्रो संस्थामा जीवनज्योती परिवारले देखाएको सहयोग र माया अतुलनीय छ।
यस्तो सहयोगले आश्रमका वृद्ध आमाबुबाको मनमा खुसी थप्नुका साथै समाजमा सहानुभूतिको सन्देश फैलाउने काम गरेको छ।”

डा. नीलसागरले विद्यार्थीहरूको उज्ज्वल भविष्य, उत्तरोत्तर प्रगति र सुस्वास्थ्यको शुभकामना दिंदै आगामी दिनमा पनि यस्तै सहयोग र स्नेह निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।
नीलसागर सेवा आश्रमले विगत लामो समयदेखि असहाय, वृद्धवृद्धा, मानसिक रूपमा अस्वस्थ र सडकमा बसोबास गर्ने व्यक्तिहरूलाई आश्रय, उपचार र माया–सेवा प्रदान गर्दै आएको छ।

जीवनज्योती स्कुलका विद्यार्थीहरूको यस पटकको सहभागिताले उनीहरूमा समाजसेवाको भावना जागृत गराएको विद्यालयले जनाएको छ।
 
 
 










