गाउँमै उज्यालो फर्कियो : राप्तीसोनारीमा पहिलोपटक निःशुल्क मोतियाबिन्दु शल्यक्रियाबाट स्थानीय खुसी

  • नमस्ते कर्णाली

  • २०, कार्तिक २०८२
    बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सामुदायिक अस्पताल परिसरमा पहिलोपटक गरिएको निःशुल्क आँखाको मोतियाबिन्दु शल्यक्रियाले गाउँभर उज्यालो फैलिएको छ। तीन दिनसम्म चलेको शल्यक्रिया शिविरमा १ सय ९३ जनाको मोतियाबिन्दु र ४ जनाको आँखामा मासु पलाएको (प्टेरिजियम) सफलतापूर्वक शल्यक्रिया गरिएको हो।

    गाउँकै अस्पतालमा यस्तो सेवा पाउँदा स्थानीय बासिन्दा अत्यन्तै खुसी भएका छन्। सोनारी–५ की ७० वर्षीया रामकली थारू भन्छिन्, “पहिले केहिपनि देखिँदैनथ्यो, अहिले त सबै कुरा चम्किलो देखिन्छ। गाउँमै उपचार पाइने भएपछि हामीलाई त भगवानकै हात लागे जस्तो भयो।” त्यस्तै, सोनारी–३ का ललित बुढा मगरले भने, “काठमाडौँ जान नसक्नेहरूका लागि यस्ता शिविर त आशिर्वाद नै हुन्। अब म फेरि खेतबारीमा काम गर्न सक्छु।”

    गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार, “वर्षौंदेखि उपचार नपाएर दुस्ख पाउँदै आएका नागरिकका लागि यो शिविरले ठूलो राहत दिएको छ। गाउँपालिकाको प्राथमिकता स्वास्थ्य क्षेत्रमा नै केन्द्रित रहेको प्रमाण यो अभियान हो।”

    शिविरको उद्घाटन गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारूले गरेकी थिइन्। उनले भनिन्, “मोतियाबिन्दु पीडितहरूले गाउँमै निःशुल्क शल्यक्रिया पाउनु हाम्रो ठूलो उपलब्धि हो। यसले गाउँमै स्वास्थ्य सेवा विस्तारको बाटो खोलेको छ।”

    गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीका अनुसार, कार्तिक १० गतेदेखि सुरु भएको निःशुल्क आँखा जाँच तथा छनोट कार्यक्रम गाउँपालिकाका सबै ९ वडामा गरिएको थियो। त्यही क्रममा पहिचान गरिएका बिरामीहरूलाई अस्पतालमा शल्यक्रिया गरिएको हो।

    शिविर नेपाल आँखा कार्यक्रम र तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो। शिविरमा डा. रेखा पुन, डा. नम्रता र विदेशी विशेषज्ञ डा. ओराकको टोली खटिएको थियो।

    यसअघि पनि राप्तीसोनारी अस्पताल परिसरमा ग्रामीण आँखा केन्द्रमार्फत आँखा जाँच र परामर्श सेवा दिइँदै आएको भए पनि यसपटकको शल्यक्रिया कार्यक्रम पहिलो ठूलो प्रयास भएको गाउँपालिकाले जनाएको छ। स्थानीयवासीहरूले यसलाई गाउँको आँखा स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि र ‘उज्यालो फर्काउने अभियान’ का रूपमा स्वागत गरेका छन्।

  • २१ कार्तिक २०८२, बिहीबार ०७:४९ प्रकाशित

  • Nabintech