तीन वर्षपछि गति लिँदै बड्डीचौर–खम्बगाडे सडक निर्माण : रुख र पोल कटानपछि काम तिव्र बनाउन तयारी

  • नमस्ते कर्णाली

  • २०, कार्तिक २०८२
    सुर्खेत ।सुर्खेत पश्चिमको बड्डीचौर–खम्बगाडे सडक निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि कार्य सम्पन्न नहुँदा लामो समयदेखि स्थानीयवासी असहज यात्रामा बाध्य छन्। आम बुझाइमा सडक निर्माणमा ढिलाइको कारण ठेकेदारमाथि लगाइँदै आएको भए पनि, पूर्वतयारी नपुगेका कारण यो सडक अलपत्र परेको खुलेको छ।

    संघीय सरकार मातहतको १३ किलोमिटर सडक निर्माणमा विद्युत पोल, रुख कटान र जग्गा विवाद प्रमुख बाधक बनेका छन्। बड्डीचौर बजार, जनज्योति स्कुल र पाइप डाँडाको विवाद समाधान नहुँदा कार्य अघि बढ्न सकेको थिएन।

    २०७९ असारमा ठेक्का आह्वान गरी तत्कालीन मन्त्री यज्ञबहादुर विसीले शिलान्यास गरेका थिए। तर, रुख कटान र विद्युत पोल हटाउने काम पूरा नहुँदा निर्माण अघि बढ्न सकेको थिएन। अहिले ८६४ वटा पोल हटाउने र रुख कटानको काम अन्तिम चरणमा पुगेपछि सडक निर्माण फेरि गतिशील बन्ने संकेत देखिएको छ।

    ‘निर्माण व्यवसायीमाथि मात्र दोष थोपार्नु ठीक होइन,’ अनक जयदेवी जेभीका इन्जिनियर शंकर रावतले बताए, ‘रुख र विवादित क्षेत्रको समस्या समाधान हुँदैछ, दुई–तीन महिनामै कामको प्रगति देखिनेछ।’

    ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा सम्झौता गरिएको सडकको पहिलो खण्डमा हालसम्म नाला, कल्भर्ट र सपोर्ट वाल निर्माण कार्य सम्पन्न भइसकेको छ। पूर्वाधार विकास निर्देशनालयका प्रमुख सूर्यबहादुर शाहीका अनुसार, ‘रुख कटान सकिएसँगै निर्माण तीव्र हुन्छ, असारसम्म कालोपत्रे सक्ने लक्ष्य लिएको छ।’

    त्यस्तै, खम्बगाडे–बावियाचौर–विद्यापुर सडक कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ। १८ करोड लागतको यो सडक २०७९ भदौमा ठेक्का सम्झौता गरिएको थियो। रुखकै कारण ढिलाइ भए पनि अहिले मंसिरसम्म कालोपत्रे सक्ने लक्ष्य राखिएको छ।

    मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–लगाम खण्डको ८५ किलोमिटर सडक निर्माण पनि तीव्र गतिमा अघि बढेको छ। २०५१ सालमै ट्र्याक खुलेको यो सडक सुर्खेतलाई पाल्पाघाटसँग जोड्ने महत्त्वपूर्ण मार्ग हो। यस राजमार्गमा हालसम्म धुलियाविट–बोटेचौर–रैकर–बालुवासंग्रही, बाँगेशीमल–बड्डीचौरलगायतका करिब ५० किलोमिटर सडक कालोपत्रे भइसकेको छ।

    यता, बड्डीचौर–बावियाचौर–कुइने–चिसापानी सडक पनि सुर्खेत, दैलेख, कालिकोट, हुम्ला र सुदूरपश्चिमका जिल्लालाई जोड्ने छोटो वैकल्पिक मार्गका रूपमा विकसित हुँदैछ। रुख र पोल हटिसकेकाले यस वर्षभित्र कालोपत्रे गर्ने तयारी भएको कञ्चनपुर सडक डिभिजनका प्रमुख इन्जिनियर राजेशकुमार यादवले बताए।

    पञ्चपुरी नगरपालिका (सुर्खेत) र तुर्माखाँद गाउँपालिका (अछाम) सीमामा पर्ने जंगलाघाटमा १६ करोड ५८ लाख ६४ हजार लागतमा पक्की पुल निर्माण भइरहेको छ। लामा कन्स्ट्रक्सन काठमाडौंले जिम्मा लिएको पुल २०८३ कार्तिकसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    यी सबै परियोजना पूरा भएपछि कर्णाली र सुदूरपश्चिम जोड्ने छोटो र सुरक्षित मार्गको सपना पुरा हुने अपेक्षा गरिएको छ।

  • २१ कार्तिक २०८२, बिहीबार ०८:०१ प्रकाशित

  • Nabintech