२१, कार्तिक २०८२
बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयले आगामी कात्तिक २३ गते आइतबारदेखि बाँके जिल्लामा धान खरिद सुरु गर्ने भएको छ।
कम्पनीका प्रमुख रामशरण लामिछानेका अनुसार यस वर्ष बाँकेका लागि २० हजार क्विन्टल धान खरिद कोटा केन्द्रबाट प्राप्त भएकाले धान खरिद कारकाँदोस्थित कार्यालय र नेसनल ट्रेडिङको कार्यालयमार्फत सुरु गर्ने तयारी गरिएको हो।
लामिछानेका अनुसार धान खरिदका लागि किसानले केही मापदण्ड पूरा गर्नुपर्नेछ। “धान पानीले नभिजेको, सफा र सुकाइएको हुनुपर्छ। सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र र किसानको बैंक खाताको प्रमाणित चेक प्रतिलिपि पनि अनिवार्य रूपमा ल्याउनुपर्नेछ,” उहाँले बताउनुभयो।
सरकारले तोकेको मूल्यअनुसार मोटा धान प्रतिक्विन्टल ३,४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल ३,६२८ रुपैयाँ ३३ पैसामा खरिद गरिने कम्पनीले जनाएको छ।
यस वर्ष १५ हजार क्विन्टल मोटा धान र ५ हजार क्विन्टल मध्यम धान खरिद गर्ने लक्ष्य राखिएको छ। गत वर्ष भने नेपालगञ्जमा कुल ३२ हजार क्विन्टल धान खरिद गरिएको थियो।
धान खरिद सुरु हुने भएपछि किसानहरू उत्साहित भएका छन्। कोहलपुर–५ का किसान विष्णु थारूले भन्नुभयो“गत वर्ष धान बिक्री गर्न बजार धाउनु परेको थियो, व्यापारीले कम मूल्य दिएको थियो। यसपालि सरकारले खरिद सुरु गर्ने भएपछि हामीजस्ता किसानलाई राहत मिल्नेछ।”
त्यस्तै राप्तीसोनारी–३ का किसान मनबहादुर यादवले पनि खुसी व्यक्त गर्दै भन्नुभयो“धानको मूल्य खुलेर नबढे पनि सरकारकै तर्फबाट खरिद हुँदा निश्चिन्त भएर धान बिक्री गर्न पाउने भयौं। अब हाम्रो मिहिनेतको मूल्य पाउने आशा जगेर्छ।”
कम्पनीले यसपालि किसानलाई समयमै धान बिक्री गर्न सहज वातावरण तयार पार्ने जनाएको छ।
तर, विगतमा जस्तै खरिद ढिलाइ भए बजारमा व्यापारीलाई कम मूल्यमा बिक्री गर्न बाध्य हुनुपर्ने किसानहरूको गुनासो पनि रहेको छ।
बाँकका किसानहरूले मेहनत गरेर उत्पादन गरेको धान उचित मूल्यमा बिक्री गर्न पाउनु उनीहरूको हक हो। सरकारी खरिद समयमै र पारदर्शी रूपमा सम्पन्न भए कृषकको मनमा भरोसा बढ्नेछ र उत्पादनमा थप उत्साह आउनेछ।










