२२,कात्तिक २०८२
बाँके।लुम्बिनी प्रदेश सरकारको आव २०८१/८२ को प्रदेशस्तरीय मूल्यांकनमा जिल्ला अस्पताल बर्दिया लगातार दोस्रो वर्ष पनि पहिलो स्थानमा रहन सफल भएको छ। स्वास्थ्य सेवा विस्तार, पारदर्शिता र कार्यसम्पादनमा उत्कृष्ट प्रदर्शन गर्दै बर्दिया अस्पतालले प्रदेशका जिल्लास्तरीय अस्पतालहरूबीच उल्लेखनीय सफलता हासिल गरेको हो।
प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु र स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले बर्दिया अस्पतालका प्रमुख डा. सुवास पाण्डेलाई प्रथम स्थानको प्रमाणपत्र प्रदान गर्नुभयो।
अस्पतालका प्रमुख डा. पाण्डेले यो उपलब्धि सम्पूर्ण अस्पताल टिमको सामूहिक प्रयास र पारदर्शी व्यवस्थापनको परिणाम भएको बताउँदै, “अनेक चुनौतीका बाबजुद पनि हाम्रो टिमले निरन्तर उत्कृष्टता कायम राख्न सफल भएकोमा गर्व लागेको छ,” भन्नुभयो। उहाँले निरन्तरको सफलताका लागि सबै स्वास्थ्यकर्मी र कर्मचारीप्रति धन्यवाद समेत व्यक्त गर्नुभयो।
गत आर्थिक वर्षमा समेत बर्दिया अस्पतालले प्रदेशभरका १३ वटा जिल्ला अस्पतालहरूबीच पहिलो स्थान हासिल गरेको थियो। यस वर्ष ७०.२४ प्रतिशत अंकका साथ बर्दिया अस्पताल पुनः प्रथम रहँदा, अर्घाखाँची अस्पतालले ६९.७४ प्रतिशत अंकका साथ दोस्रो र लुम्बिनी प्रादेशिक अस्पतालले ६८.७४ प्रतिशत अंकका साथ तेस्रो स्थान प्राप्त गरेका छन्।
मूल्यांकन १२ वटा प्रमुख सूचकहरू (ranking indicators) का आधारमा गरिएको हो। ती सूचकहरूमा अस्पतालको सेवा प्रवाह, पारदर्शिता, वित्तीय प्रगति, प्रतिवेदन प्रणाली, मानव संसाधन व्यवस्थापन र कार्यसम्पादनको प्रभावकारिता समावेश छन्।
प्रदेशभरका जिल्लास्तरीय अस्पतालमध्ये बर्दिया अस्पतालको लगातार उत्कृष्ट प्रदर्शनले लुम्बिनी प्रदेशको स्वास्थ्य सेवाको स्तरमा नयाँ ऊर्जा थपेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।










