कम्युनिष्ट एकताले विश्वभर बलियो सन्देश दिएको छ : संयोजक प्रचण्ड

  • नमस्ते कर्णाली

  • २२, कार्तिक २०८२

    सुर्खेत ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १९ गतेको एकता घोषणासभाले विश्वभर बलियो सन्देश दिएको बताउँएका छन । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले गरेको ‘राष्ट्रियस्तरको बृहत् भर्चुअल प्रशिक्षण’कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले रणनीतिक रूपले विचार गरेर कम्युनिष्ट आन्दोलनलाई एकता गर्ने सपनाका साथ १९ गते एकता घोषणासभा भएको बताए । उनले भने, “यो वाम एकता लोकतन्त्रवादी शक्तिहरूलाई एक ठाउँमा आउन गरिएको ऐतिहासिक महत्त्वको रणनीतिक पहल र अपिल हो । राजनीतिक दल तथा लोकतन्त्र र गणतन्त्र सिध्याउने शक्तिका विरुद्ध गरिएको प्रतिवाद हो ।”

    जेनजी आन्दोलनपश्चात् मुलुकमा उत्पन्न सङ्कट समाधान, संविधान खारेज तथा भयानक अवस्थाबाट बचाउन र राजनीतिक निकासका निम्ति सहजीकरण गर्ने विशेष अवसर प्राप्त भएको जनाउँदै उनले एकता घोषणासभा लोकतान्त्रिक वाम शक्तिहरू एक ठाउँमा आउने ‘बृहत् राष्ट्रिय एकताको आधार’ बन्ने विश्वास व्यक्त गरे । निर्वाचनको वातावरण बनाउन, सङ्कटबाट राष्ट्र जोगाउन पहल गर्नुपर्ने जिम्मेवारी नेकपामा आइपुगेकाले यसमा गम्भीर कदम चाल्नुपर्ने संयोजक दाहालको भनाइ थियो ।

    उनले भने, “कम्युनिष्ट एकताले जनताको बीचमा भरोसा पैदा गरेको छ । जुन आजको अपरिहार्य आवश्यकता थियो । अब जनसम्बन्ध बढाउन, संविधान र संवैधानिक अधिकार रक्षाका निम्ति प्रगतिशील शक्तिहरूको एकता एवं ध्रुवीकरणको मार्गप्रशस्त भएको छ ।” सरकारका गलत क्रियाकलापका कारण जेनजी आन्दोलन हुन गएको उनको टिप्पणी थियो ।

    शिक्षक कर्मचारीहरूका जायज मागहरू पूरा गर्न सरकार, सदन र सडकबाट जोडबल गरिँदा पनि पछिल्लो सरकार त्यसप्रति अनुदार बनेको जिकिर गर्दै उहाँले सदनमा तागत नपुग्दा शिक्षक कर्मचारीका माग पूरा हुननसकेको धारणा व्यक्त गर्नुभयो । निर्वाचन केन्द्रित हुन र त्यसको माहोल सृजना गर्न पनि उहाँले शिक्षक कर्मचारीलाई निर्देशन दिए । संयोजक प्रचण्डले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण तयारीका लागि सरकारलाई दत्तचित्त भएर लाग्न आग्रह गरे ।

  • २३ कार्तिक २०८२, शनिबार ०९:१० प्रकाशित

  • Nabintech