फोक्सुण्डो तालसम्मको पदमार्ग स्तरोन्नति र रिङ्ग वस्ती विकासको थालनी, डोल्पा अस्पताल सडक सञ्जालसँग जोडियो

  • नमस्ते कर्णाली

  • २३, कार्तिक २०८२
    कर्णाली ।कर्णाली प्रदेश सरकारले नेपालकै प्रसिद्ध पर्यटकीय गन्तव्य शे–फोक्सुण्डो तालसम्म पुग्ने पदमार्ग स्तरोन्नतिको काम अघि बढाएको छ। पदमार्ग सुधारसँगै नजिकैको ऐतिहासिक रिङ्ग (रिङ्गिबो) वस्तीको संरक्षण र प्रवर्द्धनका लागि रिङ्ग वस्ती विकास कार्यक्रम सुरु गरिएको हो।

    डोल्पाको फोक्सुण्डो गाउँपालिका–८, रिङ्गिबोमा शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त कार्यक्रमको शिलान्यास गरेका छन्। कार्यक्रममा उनले “समृद्ध कर्णालीको सपना पूरा गर्न योजनाहरूलाई जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नु जरुरी छ” भन्दै निर्माण व्यवसायीहरूलाई समयमै गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे।

    रिङ्ग वस्ती विकास कार्यक्रम अन्तर्गत डोल्पाको साङ्टादेखि फोक्सुण्डो तालसम्म पुग्ने पदमार्गको स्तरोन्नति, सदरमुकाम दुनैदेखि ट्रेकिङ्ग रुटमा हरेक दुई किलोमिटरमा १६ वटा प्रतिक्षालय निर्माण, रिङ्ग वस्तीभित्र सडक विस्तार, ढल व्यवस्थापन, दुई विद्यालयको पूर्वाधार सुधार, दुई ट्रस पुल, गुम्बामा खानेपानीको व्यवस्था, फोक्सुण्डो ताल अवलोकनका लागि भ्यूपोइन्ट निर्माण, संग्रहालय र पार्क स्थापना, साथै वस्ती सुरक्षाका लागि तटबन्ध निर्माणजस्ता कामहरू हुनेछन्।

    यो योजनाका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा २१ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। पूर्वाधार विकास कार्यालय डोल्पा र निर्माण व्यवसायी श्रेय/गठीचौर जेभी काठमाडौँबीच सम्झौता भएर काम सुरु भइसकेको छ। सम्झौता अनुसार २०८४ असारसम्म आयोजना सम्पन्न हुने लक्ष्य राखिएको छ।

    मुख्यमन्त्री कँडेलले ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउँदै भने,“कर्णालीको समृद्धि निर्माण व्यवसायीको जिम्मेवारी पनि हो। काम निर्वाध रूपमा अगाडि बढाउनुहोस्, प्रदेश सरकार तपाईँहरूको साथमा छ।”

     

    सडकसँग जोडियो जिल्ला अस्पताल डोल्पा

    यसैबीच, डोल्पा जिल्ला अस्पताल पनि अब सडक सञ्जालसँग औपचारिक रूपमा जोडिएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कँडेलले भेरी नदीमाथि निर्माण गरिएको ४८ मिटर लामो बेलिब्रिज पुल उद्घाटन गरेसँगै अब जिल्ला अस्पतालमा सवारीसाधन पुग्ने भएको छ।

    भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमार्फत विनियोजित बजेटमा पूर्वाधार विकास कार्यालय डोल्पाले निर्माण गरेको उक्त पुल चार करोड १७ लाख रुपैयाँ लागतमा बनेको हो। रिडार्क नेपालले निर्माण जिम्मा लिएको पुल जिल्लाकै सबैभन्दा लामो बेलिब्रिज हो।

    पुल उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले भने, “सकारात्मक सोच र सामूहिक प्रयासले विकास सम्भव हुन्छ। बजेट मात्रै होइन, प्रतिबद्धता र लगन पनि चाहिन्छ।”

    उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षता र भौतिक पूर्वाधार मन्त्री शेरबहादुर बुढाको उपस्थिती रहेको थियो। मन्त्री बुढाले पुल निर्माणपछि अस्पतालमात्र होइन, फोक्सुण्डो ताल पुग्ने पर्यटकहरूलाई पनि यात्रा सहज भएको बताए।

    पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख टेक हितानका अनुसार पुल निर्माणको काम साढे पाँच महिनामै सम्पन्न गरिएको हो। उनका शब्दमा,
    “कार्यालयको सक्रियता र समन्वय भए छोटो समयमै उत्कृष्ट काम गर्न सकिन्छ भन्ने उदाहरण यही पुल हो।”
    पुल निर्माणपछि डोल्पा सदरमुकाम दुनैस्थित अस्पताल र हेलिप्याडसम्म सिधै सडक पुगेको छ, जसले स्वास्थ्य सेवा र आवागमन दुबैमा सहजता ल्याएको छ।

     

    सम्पूर्णरूपमा, कर्णाली प्रदेश सरकारले सुरु गरेको यी दुई योजनाले डोल्पाको पर्यटन, पूर्वाधार र स्थानीय जीवनस्तर सुधारमा ठोस योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

     

  • २४ कार्तिक २०८२, आईतवार ०७:१९ प्रकाशित

  • Nabintech