बाँकेमा ‘लम्पी स्किन’ नियन्त्रणमा, खोप र सचेतनाले दिलायो राहत

  • नमस्ते कर्णाली

  • २३, कार्तिक २०८२
    बाँके ।बाँके जिल्लाका सातवटै स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ। खोपको उपलब्धता, मौसममा आएको परिवर्तन र निरन्तर जनचेतनामूलक प्रयासका कारण अहिले अवस्था सामान्य बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनले जानकारी दिनुभयो।

    पुनका अनुसार प्रारम्भिक चरणमा करिब १५० भन्दा बढी पशु चौपायामा संक्रमण देखिए पनि अहिले अधिकांश पशु स्वस्थ भइसकेका छन्। केही स्थानमा दुईवटा पशुको मृत्यु भए पनि हाल नयाँ संक्रमण नदेखिएको बताइएको छ।

    यो रोग राप्तीसोनारी, जानकी, नरैनापुर, खजुरा, बैजनाथ, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकाका केही क्षेत्रमा फैलिएको थियो।

    जानकी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख दिलबहादुर खड्काले संक्रमण देखिएलगत्तै खोप वितरण सुरु गरिएको र पशुको आहारामा विशेष ध्यान दिइएकाले रोग नियन्त्रणमा आएको बताउनुभयो। “कसै–कसैले आफ्नै खर्चमा औषधि किने, गाउँपालिकाले पनि सहयोग गर्‍यो। अहिले १६२ संक्रमितमध्ये सातवटा मात्र उपचारमा छन्,” उहाँले बताउनुभयो।

    त्यसैगरी राप्तीसोनारी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जयबहादुर कार्कीका अनुसार गाउँपालिका–६ को खल्ला टपरीबाट सुरु भएको संक्रमण वडा नं. ८ सम्म पुगे पनि अहिले नियन्त्रणमा आएको छ। “सुरुमा भ्याक्सिनको अभावले समस्या भयो, तर अहिले अधिकांश पशुमा रोग नियन्त्रणमा आएको छ,” उहाँले बताउनुभयो।

    नरैनापुर गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जगतराम यादवका अनुसार नरैनापुरमा ८५ वटा पशुमा संक्रमण देखिए पनि भयावह स्थिति सिर्जना भएको छैन।

    यसबीच जानकी गाउँपालिका–४ का स्थानीय कृषक रामबहादुर बुढा भन्नुहुन्छ, “सुरुमा धेरै डर लाग्यो, गाई–भैंसीमा छाला सुन्निने र दाग आउने समस्या बढेको थियो। अहिले खोप र उपचारपछि सबै ठीक हुँदै छन्। अब हामी पशुको सरसफाइ र पोषणमा अझ ध्यान दिइरहेका छौं।”

    अधिकारीहरूका अनुसार निरन्तर निगरानी, खोप व्यवस्थापन र जनचेतनामूलक अभियानले संक्रमण घट्दै गएको र रोगलाई स्थायी रूपमा नियन्त्रणमा ल्याउने प्रयास जारी छ।

     

     

  • २४ कार्तिक २०८२, आईतवार ०७:२९ प्रकाशित

  • Nabintech