कोहलपुरमा सुरु हुँदै ‘धुवाँ मुक्त गाउँ कार्यक्रम’विद्युतिय चुलो प्रयोग अभियानलाई तीव्रता

  • नमस्ते कर्णाली

  • २९, कार्तिक २०८२
    बाँके ।नेदरल्याण्ड विकास नियोग (एसएनभी) नेपालले सञ्चालन गर्दै आएको ‘धुवाँरहित गाउँ कार्यक्रम’ अन्तर्गत कोहलपुर नगरपालिका–१३ लाई धुवाँमुक्त गाउँ बनाउने प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भएको छ। ‘स्वस्थ जीवन, सफा आकाश, धुवाँमुक्त गाउँ हाम्रो प्रयास’ भन्ने मूल नारासहित कोहलपुरमा प्रारम्भिक बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको उर्जा परियोजना संयोजक सन्तोष कुमार आचार्यले जानकारी दिनुभयो।

    कार्यक्रममार्फत स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई धुवाँरहित गाउँ निर्माणका चरण, कार्यान्वयन प्रक्रिया, आवश्यकता र यसले समुदायलाई दिने फाइदाबारे विस्तृत जानकारी गराइएको संयोजक आचार्यले बताउनुभयो। उहाँका अनुसार घरभित्रको वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्छ, जसमाथि नियन्त्रण गर्न विद्युतिय चुलोको प्रयोग अभिन्न उपाय हो। “हामी विद्युतिय चुलोको प्रयोगलाई विस्तारै दैनिक बानीमा रूपान्तरण गर्न चाहन्छौँ,” आचार्यले भन्नुभयो।

    परियोजनाअन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका गरी कुल १४ हजार घरपरिवारलाई लक्ष्य गरिएको छ। बाँके जिल्लामा मात्र १५ सय घरधुरीलाई अभियानमा समेटिनेछ। यसका लागि परियोजनाले विद्युतिय चुलो खरिदमा करिब दुई हजार रुपैयाँ अनुदान उपलब्ध गराउने पनि जानकारी दिइएको छ। आचार्यका अनुसार धुवाँमुक्त गाउँ अभियान एकल प्रयत्नले सम्भव नहुने हुँदा समुदाय, स्थानीय सरकार र सम्बन्धित निकायहरूको साझा प्रयास अपरिहार्य छ।

    कार्यक्रममा सहभागी हुँदै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले विद्युतिय चुलोको प्रयोग स्वास्थ्य, वातावरण तथा ऊर्जा सुरक्षित भविष्यका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। वैकल्पिक ऊर्जा प्रवर्द्धन सरकारले प्राथमिकताका रूपमा अघि सारेको नीतिअनुसार नगरपालिकाले अभियानलाई निरन्तर साथ र सहयोग गर्ने आश्वासन पनि उहाँले दिनुभयो।

    नेपालमा जैविक इन्धन प्रयोग गरेर खाना पकाउने परम्पराले स्वास्थ्य जोखिमसँगै वनजंगल विनाशमा समेत ठूलो प्रभाव पारेको अभियन्ताहरू बताउँछन्। धुवाँरहित गाउँ अभियानले दाउराको प्रयोग घटाउने, विद्युत खपत वृद्धि गर्ने, घरभित्रको वायु प्रदूषण न्यूनिकरण गर्ने र विद्युतिय सुरक्षाबारे जनचेतना फैलाउने उद्देश्य राखेको संयोजक आचार्यले जानकारी दिनुभयो।

    कार्यक्रममा नगरका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत समिति प्रमुखलगायत स्थानीय जनप्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो।

     

  • ३० कार्तिक २०८२, शनिबार १३:३२ प्रकाशित

  • Nabintech