सुर्खेतमा एमालेको शक्ति प्रदर्शन : ‘प्रतिगामी षड्यन्त्र’ विरुद्ध सडक संघर्ष तीव्र

  • नमस्ते कर्णाली

  • ३०, कार्तिक २०८२

    सुर्खेत ।सुर्खेतमा नेकपा (एमाले)ले प्रतिगामी षड्यन्त्रका विरुद्ध ठूलाे जनप्रदर्शन गर्दै राजनीतिक अस्थिरता र संविधानविपरीत सञ्चालन भइरहेको सरकारको विरोधमा सडक आन्दोलनको गति बढाएको छ। जिल्ला कमिटी सुर्खेतको आयोजनामा गरिएको प्रदर्शनमा पुनः विघटित प्रतिनिधिसभा पुनर्स्थापना, २३ र २४ भदौका घटनाको निष्पक्ष छानबिन र आन्दोलनका नाममा तोडफोड, लुटपाट तथा आगजनी गर्ने तत्वलाई कडा कारबाही गर्न माग गरियो।

    जेन–जी आन्दोलनपछि देशमा विकसित राजनीतिक घटनाक्रमलाई ‘राष्ट्रहितविपरीत’ भन्दै एमालेले पछिल्लो समय निरन्तर सडक संघर्षमा केन्द्रित हुँदै आएको नेताहरूले जनाएका छन्। दशैँभरी गरिएको शक्ति प्रदर्शनमा एमालेका शीर्ष नेताहरूले संविधानविपरीत बनेको सरकारले देशलाई राजनीतिक समाधान दिन नसक्ने दाबी गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग जोडदार रूपमा उठाए।

    ‘संविधानले नचिनेको सरकार स्वीकार्य छैन’ — यामलाल कँडेल

    सुर्खेतमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनपछि पैदा भएको विषम परिस्थितिमा संविधानले नचिन्ने सरकार गठन भएकाले देश थप संकटतर्फ धकेलिएको टिप्पणी गरे।

    उनले २४ भदौपछि देशभर देखिएको विध्वंश, लुटपाट र सार्वजनिक सम्पत्तिमाथिको आगजनीप्रति एमालेले कठोर विरोध जनाएको उल्लेख गर्दै, “जेन–जीले उठाएका भ्रष्टाचार र सुशासनका मुद्दा सबैकै साझा हुन्, तर विध्वंशको राजनीति कदापि स्वीकार्य छैन,” भने।

    सरकारले अपराधीलाई संरक्षण गरिरहेको आरोप लगाउँदै उनले जनताको अधिकार कुण्ठित गर्ने अवस्थामा सबै सचेत रहनुपर्ने बताए। “हामी सत्ता होइन, जनताको अधिकारका लागि सडकमा छौं। संविधानको रक्षा एमालेको मूल सिद्धान्त हो,” कँडेलले भने।

    आगामी फागुनमा निर्वाचन हुन नसक्ने दाबी गर्दै उनले सरकारले निर्वाचनको वातावरण निर्माण गर्न असफल भएको टिप्पणी गरे।

    ‘गणतन्त्र र संविधानको रक्षा अहिलेको ऐजेन्डा’ — मोहनमाया ढकाल

    एमाले केन्द्रीय सदस्य मोहनमाया ढकालले गणतन्त्र संस्थागत गर्न प्रतिनिधिसभा पुनर्स्थापना अपरिहार्य भएको बताइन्। उनले जेन–जी आन्दोलनका मागहरू जायज भए पनि आन्दोलनका नाममा मच्चिएको अराजकताले राष्ट्रिय स्वाभिमान नै प्रभावित भएको बताइन्।

    ढकालले भनिन्, “देशको सार्वभौमिकतामाथि प्रहार गरिने, सार्वजनिक तथा निजी सम्पत्ति जलाइने काम कुनै आन्दोलन होइन—षड्यन्त्र हो। यसैको प्रतिवादमा एमाले सडकमा उत्रिएको हो।”

    यस्तै, केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज नवराज रावतले एमालेको नेतृत्वबिना देशको समृद्धि सम्भव नभएको दाबी गर्दै संविधान र लोकतन्त्र जोगाउन संसद पुनर्स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए।

    महासचिव शंकर पोखरेल : ‘चुनावका नाममा देशमा षड्यन्त्र’

    उता, सुर्खेतमै आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले आगामी फागुनमा प्रतिनिधिसभा चुनाव नहुने स्पष्ट दाबी गरे।

    “देशमा चुनावका नाममा नयाँ षड्यन्त्र भइरहेको छ। यस्तो अवस्थामा एमाले हुँदै नहुने चुनावमा सहभागी हुँदैन,” पोखरेलले भने।

    उनका अनुसार प्रधानमन्त्रीको राजीनामापछि नयाँ सरकार गठनको संवैधानिक बाटो खुला भए पनि संसद विघटनलाई पहिलो विकल्प बनाएर संविधानले नचिन्ने कदम चालियो, जुन एमालेका दृष्टिमा ‘राष्ट्रविरोधी षड्यन्त्र’ हो।

    उनले विध्वस्त प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान संशोधनमार्फत देशलाई वर्तमान राजनीतिक संकटबाट बाहिर निकाल्नुपर्ने आवश्यकता दोहोर्‍याए।

    एमाले : ‘आन्दोलन जनताको पक्षमा, हिंसा होइन’

    महासचिव पोखरेलले आन्दोलनलाई हिंसाबाट अलग राख्नुपर्ने बताउँदै जेन–जीका नाममा सामाजिक सञ्जालमा ३३ प्रतिशत फेक अकाउन्ट प्रयोग गरेर युवालाई भड्काइएको दाबी गरे। उनले यस्तो प्रायोजित आन्दोलनले राष्ट्रलाई धरापमा पुर्‍याएको उल्लेख गरे।

    यसअघि भएको जनप्रदर्शनमा एमालेका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूले संविधान, लोकतन्त्र र गणतन्त्रलाई संरक्षण गर्न पार्टीले जारी राखेको संघर्षलाई ‘जनताको मनोबल जगाउने अभियान’को रूपमा प्रस्तुत गरेका थिए।

    सुर्खेतमा एमालेको उक्त शक्तिशाली प्रदर्शनपछि अब स्थानीय तथा केन्द्रिय राजनीतिक समीकरणमा नयाँ बहस सुरु भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

  • १ मंसिर २०८२, आईतवार ०७:५६ प्रकाशित

  • Nabintech