१, मंसिर २०८२
बाँके ।बादी समुदायको समग्र विकास, हक–अधिकार संरक्षण तथा महिलाको सशक्तीकरणलाई मुख्य लक्ष्य बनाउँदै ‘मर्यादाका लागि महिला आवाज’ नामक संस्था बाँकेमा औपचारिक रूपमा स्थापना गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका–स्थित कार्यालयबाट सेवा प्रदान गर्ने उद्देश्यका साथ संस्थाले आजदेखि नियमित कार्यक्रमहरूको थालनी गरेको हो।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले विशेष समारोहका बीच संस्थाको उद्घाटन गर्दै बादी समुदाय, विशेषगरी महिलाको जीवनस्तर uplift गर्न यो कदम अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले भने, “बादी महिलाहरू अझै पनि शिक्षा, पहिचान, स्वास्थ्य र सम्मानजनक जीवनको अधिकारबाट टाढा छन्। यस्तो अवस्थाको सुधारका लागि संस्था प्रभावकारी प्रयासको केन्द्र बिन्दु बन्न सक्छ।” चौधरीले आवश्यकता परे जिल्ला समन्वय समितिको तर्फबाट सहयोग गर्न प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।
उद्घाटनसँगै ‘बादी समुदायको अवस्था, समस्या, सम्भावना र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न सरोकारवाला तथा विशेषज्ञहरूले बादी समुदायले सामना गर्दै आएका सामाजिक, आर्थिक र शैक्षिक चुनौतीबारे गम्भीरतापूर्वक विमर्श गर्दै व्यावहारिक समाधानका उपायहरू सुझाव दिए। कार्यक्रममा संस्थाकी अध्यक्ष बसन्ती नेपालीले अध्यक्षता गर्नुहुँदै बादी समुदायका समस्या समाधानका लागि संस्थाले दीर्घकालीन योजना सहित काम अघि बढाउने बताउनु भयो।
नेपालगन्ज उपमहानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरीले संस्था स्थापना हुनु आफैँमा सशक्त कदम भएको बताउँदै लक्षित वर्गको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमहरू अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। जिल्ला प्रहरी कार्यालय महिला सेलकी चन्द्रिका खनालले बादी महिलाको सुरक्षा र अधिकार संरक्षणमा प्रहरी प्रशासन सधैं सक्रिय रहने आश्वासन दिनुभयो।
खुला छलफल सत्रमा विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभियानकर्मी तथा पत्रकारहरूले बादी समुदायले भोग्नुपरेको पहिचानको चुनौती, शिक्षामा पहुँचको कमी, सुरक्षित बसोबास, रोजगारीको अवसर अभाव तथा सामाजिक विभेदका कारण उनीहरूको जीवन अझै कठिन रहेको बताउँदै रणनीतिगत कार्यक्रम आवश्यक रहेको सुझाव दिए।
अन्तरक्रियाको सहजीकरण बास नेपालका निर्देशक हेमराज भट्टले गर्नुभएको थियो। कार्यक्रममा ३३ जना सरोकारवालाको सहभागीता रहेको थियो। संस्था स्थापना भएपछि बादी समुदाय, विशेषगरी महिलाहरूका अधिकार, अवसर र सम्मानजनक जीवन सुनिश्चितताका लागि अपेक्षित योगदान पुग्ने विश्वास गरिएको छ।











