५, मंसिर २०८२
बाँके ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सहज, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने उद्देश्यसहित बाँकेमा निर्वाचन तयारी तीव्र बनेको छ। जिल्लाको भू–उपयोग, बसोबासको घनत्व र भौगोलिक चुनौतीलाई ध्यानमा राख्दै जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदान केन्द्र थप गर्नुका साथै केही पुराना केन्द्रहरू स्थानान्तरण गर्ने निर्णय गरेको छ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार यसपालि एक नयाँ मतदान केन्द्र थपिएको छ भने तीन मतदान केन्द्र स्थानान्तरण गरिएको छ। राप्तीसोनारी गाउँपालिका–२ अगैयाका स्थानीयलाई विगतमा शहिद स्मारक मतदान केन्द्रमा पुग्न धेरै टाढा र जोखिमपूर्ण बाटो पार गर्नुपर्ने समस्या थियो। चुरे क्षेत्रको असजिलो भौगोलिक अवस्था र यातायात अभावका कारण मतदानमा असर परेपछि ‘मतदान स्थल तथा मतदान कार्यविधि २०८१’ बमोजिम अगैया माविलाई नयाँ मतदान केन्द्रका रूपमा सिफारिस गरिएको शाहीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “अनुगमनका क्रममा ४६३ जना मतदातालाई अत्यन्तै कठिनाइ देखिएकोले नयाँ केन्द्र सिफारिस गरिएको हो।”
राप्तीसोनारी–२ कै लक्ष्मी माविमा रहेका दुई मतदान केन्द्रलाई यसपालि प्रावि मधुवामा सारिएको छ। यहाँका ६–७ वटै बस्तीलाई लक्ष्मी मावि टाढा र अपायक देखिएपछि स्थानान्तरण गरिएको हो। यस्तै, खजुरा गाउँपालिका–७ मा गुल्जर मदरसामा रहेको मतदान केन्द्रलाई ‘असुरक्षित’ ठहरिएपछि अमृता माविमा सारिएको शाहीले बताउनुभयो।
कोहलपुर नगरपालिका–८ र ९ का मतदाताका लागि पनि नयाँ व्यवस्था गरिएको छ। अघिल्लो निर्वाचनमा कृषि विकास बैंकमा राखिएको मतदान केन्द्र हटाई वडा नं. ८ का लागि सरस्वती मावि पिपरी र वडा नं. ९ का लागि वडा कार्यालयलाई नयाँ मतदान केन्द्र तोकिएको हो।
२०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बाँकेमा १३८ मतदान केन्द्र रहेका थिए। यसपालि एउटा थपिँदै संख्या १४० पुगेको छ। नयाँ व्यवस्था तथा स्थानान्तरणको निर्णयले आगामी निर्वाचनमा सबै मतदातालाई सहज र सुरक्षित रूपमा मतदानमा सहभागी हुन मद्दत गर्ने अपेक्षा गरिएको छ।










