कर्णालीको अर्थतन्त्रमा कृषि क्षेत्रको हिस्सा उच्च तर उत्पादन र क्षेत्रफल दुवै घट्दै, अर्थिक वृद्धि दर ४.७४ प्रतिशत रहने अनुमान

  • नमस्ते कर्णाली

  • ५, मंसिर २०८२
    सुर्खेत ।कर्णाली प्रदेशको समग्र अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान अझै महत्वपूर्ण रहेको छ । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१/८२’ अनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादन (GDP) मा कृषि क्षेत्रको हिस्सा ३१.५० प्रतिशत रहेका छ । सोही अवधिमा सेवा क्षेत्रको योगदान ५८.९१ प्रतिशत र उद्योग क्षेत्रको ९.५८ प्रतिशत रहेको छ।

    तर कृषि क्षेत्रमा सरकारका तर्फबाट ठूलो लगानी हुँदै आए पनि उत्पादन र खेतीयोग्य क्षेत्रफलमा भने निरन्तर गिरावट आएको प्रतिवेदनले देखाएको छ। आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कर्णालीमा कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा ६.०८ प्रतिशतले घटेको छ।

    प्रमुख खाद्य बालीमध्ये धान ५.११, मकै ४.१६, गहुँ ४.८६, कोदो ११.५२ र जौ १.९१ प्रतिशतले क्षेत्रफल घटेका छन्। तरकारी तथा बागबानी खेतीमा १४.९१ प्रतिशत गिरावट आएकाे छ । यद्यपि फलफूल खेतीको क्षेत्रफल २.४० प्रतिशतले वृद्धि भएको छ।

    उत्पादनतर्फ पनि गिरावट झनै स्पष्ट छ। २०८१ सालमा समग्र कृषि बालीको उत्पादन ५.०१ प्रतिशतले घटेको छ। धानको उत्पादन १०.२५, गहुँ १७.३१, कोदो २२.९२ र जौ ८.५५ प्रतिशतले घट्दा मकैको उत्पादन मात्र ४.२४ प्रतिशतले बढेको देखिन्छ।

    तरकारी उत्पादन ०.८८ प्रतिशत र फलफूल उत्पादन ३६.४१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह पनि कम छ। गतवर्ष कृषि क्षेत्रमा गएको कर्जाको हिस्सा कुल कर्जाको ८.०२ प्रतिशत मात्रै रहेको छ, जुन अघिल्लो वर्षभन्दा ७.७० प्रतिशतले कम हो।

    यता, उद्योग क्षेत्रमा पनि अपेक्षाकृत सुस्त गतिविधि भएको प्रतिवेदनमा देखिन्छ। उद्योगहरूको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र रहेको छ। बिजुलीका तार तथा केबल उत्पादन उद्योगको क्षमता उपयोग ९० प्रतिशत पुगे पनि गलैंचा उद्योगको क्षमता उपयोग २३.०८ प्रतिशतमा सीमित छ । औद्योगिक कर्जा पनि १.९४ प्रतिशतले घटेको छ।

    सेवा क्षेत्रतर्फ हेर्दा कर्णाली भित्रिने पर्यटक संख्या १.७२ प्रतिशतले बढेको छ। भारत र चीनबाट आउने पर्यटकको संख्या क्रमशः २३.८५ र २५.७७ प्रतिशतले घटे पनि तेस्रो मुलुकबाट आउने पर्यटकको आगमन ९.१३ प्रतिशतले वृद्धि भएको छ।

    आर्थिक वृद्धि दर ४.७४ प्रतिशत हुने अनुमान
    आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धि दर ४.७४ प्रतिशत रहने अनुमान राष्ट्र बैंकले गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादन (GDP) दुई खर्ब ५६ अर्ब पुग्नेछ।

    राष्ट्रिय GDP मा कर्णालीको योगदान ४.१९ प्रतिशत रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ४.२९ प्रतिशतभन्दा केही कम हो। यस वर्ष कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णालीको योगदान क्रमशः ५.२४, ३.१३ र ३.९८ प्रतिशत रहने देखिन्छ।

    समयमै धान रोपाइँ हुनु, मौसमको अनुकूलता, आन्तरिक पर्यटनको वृद्धि, वित्तीय सेवा तथा डिजिटल भुक्तानी प्रणालीको विस्तार, शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार क्षेत्रमा सुधार हुँदै जानु प्रदेशको समग्र आर्थिक गतिविधिमा सकारात्मक पक्षका रूपमा देखिएको छ।

    त्यस्तै, रणनीतिक महत्वका सडक तथा विद्युत प्रसारण लाइन विस्तार, पर्यटन पूर्वाधार विकास, भूकम्प पुनर्निर्माण, र कृषि तथा ऊर्जा क्षेत्रमा भइरहेका विकास परियोजनाले आगामी वर्ष २०८२/८३ मा कर्णालीको समग्र आर्थिक गतिशीलता अझ सुधार हुनसक्ने राष्ट्र बैंकको मूल्यांकन छ।

  • ६ मंसिर २०८२, शुक्रबार ०९:३३ प्रकाशित

  • Nabintech