बर्दियामा ७ दिने नेचर गाइड तालिम 

  • नमस्ते कर्णाली

  • ६, मंसिर २०८२

    बर्दिया ।लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विकास परिषदद्वारा सञ्चालन गरिएको ७ दिने नेचर गाइड तालिम बर्दियामा सम्पन्न भएको छ । कात्तिक २७ देखि मंसिर ३ गतेसम्म बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा आयोजित तालिममा विभिन्न जिल्लाबाट आएका ४० जना सहभागीको उत्साहजनक उपस्थिति रहेको परिषदले जनाएको छ ।

    प्रदेशभित्र वातावरणमैत्री पर्यटन प्रवद्र्धन, सीपयुक्त जनशक्ति उत्पादन तथा स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यसहित गरिएको तालिममा प्रकृति संरक्षण, जैविक विविधता, जिम्मेवार पर्यटन, पर्यटकलाई प्रभावकारी रूपमा गाइडिङ गर्ने सीप, पक्षी–वन्यजन्तु पहिचान, स्थानीय संस्कृतिको समझ र प्राथमिक उपचारसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

    समापन समारोहमा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले प्रदेशभित्र प्राकृतिक पर्यटनको अपार सम्भावना रहेको भन्दै प्रशिक्षित नेचर गाइडले पर्यटकीय गतिविधि विस्तार र गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    “यस्ता कार्यक्रमले स्थानीय स्तरमै रोजगारी बढाउनुका साथै प्रदेशको प्राकृतिक धरोहर संरक्षणमा ठोस योगदान पुग्छ,” मन्त्री न्यौपानेले भने । उनले आगामी दिनमा अझ उन्नत र विस्तारित तालिम सञ्चालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

    कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्य, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक कुमार राम, नेचर गाइड एसोसिएसन बर्दियाका अध्यक्ष कृष्ण बहादुर शाह तथा पक्षीविद तथा वरिष्ठ नेचर गाइड राम बहादुर शाहीले प्राकृतिक पर्यटन प्रवद्र्धन र दक्ष जनशक्ति विकासका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

    समापन कार्यक्रम पर्यटन विकास परिषदका अधिकृत जनक राज खनालको अध्यक्षता तथा मन्त्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो भने सञ्चालन पर्यटन विकास परिषदका अधिकृत शंकर पौडेलले गरेका थिए ।

  • ७ मंसिर २०८२, शनिबार १४:२२ प्रकाशित

  • Nabintech