अवैध युनियनको दबाबले उद्योग बन्द– कामदारले रोजगारी गुमेको गुनासो, समाधानका लागि दुवै पक्ष श्रम कार्यालयमा

  • नमस्ते कर्णाली

  • ७, मंसिर २०८२
    बाँके ।बाँकेमा रहेको योयो प्लाइउड उद्योग युनियन विवादका कारण बन्द हुने स्थिति आएपछि कामदारहरू प्रत्यक्ष प्रभावित भएका छन्।
    युनियन गठनपछि आन्दोलनको नाममा बाहिरी व्यक्तिहरूको हस्तक्षेप बढ्दै गएर उद्योग नै बन्द हुने अवस्थामा पुगेपछि आफूहरूले रोजगारी गुमाउनुपरेको एक कामदारले गुनासो पोखेका छन्।

    कामदारका अनुसार उद्योगमा कार्यरत नै नरहेका व्यक्तिको नामसमेत फर्जी रूपमा राखेर ट्रेड युनियन गठन गरिएको छ। फर्जी नाम खारेजीको माग गर्दै केही कामदारले श्रम तथा रोजगार कार्यालय नेपालगञ्जमा निवेदनसमेत दिएका छन्।

    श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका प्रमुख पिन्टुकुमार रजकका अनुसार, उद्योगका मजदुरहरूले उचित पारिश्रमिक नपाएको भनी परेको उजुरीमाथि कारबाही अगाडि बढ्दै जाँदा उद्योगको बैंक खाता रोक्का गरिएको हो। तर अहिले मजदुर र उद्योग दुवै पक्षले उद्योग सञ्चालनको वातावरण बनाइदिन माग गरिरहेको र कार्यालयले मध्यस्थता गरिरहेको बताउनुभयो।
    रजकका अनुसार मजदुरहरूको हस्ताक्षर कीर्ते भएको विषयमा आवश्यक भए ३५ दिनभित्र श्रम अदालतमा जाने कानुनी व्यवस्था रहेको छ।
    उद्योगमा पाँच वर्षदेखि काम गर्दै आएका कर्मचारी रामबहादुर चौधरी भन्नुहुन्छ “हामीलाई स्थायी रोजगारी यही उद्योगले दिएको हो। तर बाहिरबाट आएका केही समूहले आफ्नो स्वार्थका लागि उद्योग बन्द गराए। उद्योग नचलेपछि हाम्रो परिवारको गुजारा नै संकटमा पर्‍यो, तत्काल निष्कर्ष निकालेर उद्योग चलाउने व्यवस्था मिलाइदिनु पर्छ।”

    उद्योग व्यवस्थापन र मजदुर पक्षबीचको विवाद समाधान नभएसम्म उद्योग बन्दकै जोखिममा रहेको र यसले स्थानीय श्रमिकहरूको जीवनयापनमा ठूलो असर परेको देखिन्छ।

     

  • ८ मंसिर २०८२, आईतवार १५:०५ प्रकाशित

  • Nabintech