पश्चिम–कर्णालीका मुटुरोगीकाे भरोसा बनेकाे भेरी अस्पताल : क्याथ ल्याब सेवाले बचाइरहेछ जीवन

  • नमस्ते कर्णाली

  • ७, मंसिर २०८२
    बाँके ।नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित क्याथ ल्याब सेवा पछिल्ला वर्षयता पश्चिम नेपालका मुटु रोगीका लागि अत्यन्तै प्रभावकारी र भरपर्दो उपचार केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। मुटु रोगको सुरक्षित, छरितो र वैज्ञानिक उपचारका लागि सञ्चालनमा रहेको यो सेवा कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लास्टि, पेसमेकर जडानदेखि पेरिकार्डियोसिन्टेसिसजस्ता जटिल प्रक्रिया सफलतापूर्वक गर्दै आएको मुटु रोग विभागले जनाएको छ।

    अस्पतालका मुटु रोग विशेषज्ञ एसोसिएट प्रोफेसर डा. विकास नेपालका अनुसार क्याथ ल्याब सेवाका कारण पश्चिम नेपालका बिरामीलाई काठमाडौँ वा भारत धाउनुपर्ने समस्या उल्लेख्य रूपमा घटेको छ। उनकाे भनाइमा, मुटुको धमनी अवरुद्ध हुने जटिल अवस्थाको तुरुन्तै उपचार यही सेवामार्फत सम्भव भएकाले धेरै बिरामीको ज्यान बचाउन सफल भएको छ। लामो समयदेखि भेरीमा मात्र उपलब्ध यो सेवा अहिले नेपालगञ्जको सञ्जीवनी मेडिकल साइन्सेस र कैलालीस्थित अत्तरिया अस्पतालले पनि सुरु गरेपछि बिरामीलाई उपचारमा थप सहजता आएको छ। बुटवलपश्चिम क्षेत्रमा भेरी अस्पताल र सञ्जीवनी कलेज दुवै संस्थाले मुटु उपचारको सेवा उपलब्ध गराइरहेका छन्।

    चालू आर्थिक वर्षको श्रावणदेखि हालसम्म भेरी अस्पतालमा ३४० जनाले क्याथ ल्याब सेवा लिएका छन्। तीमध्ये २१५ जनाले कोरोनरी एन्जियोग्राफी, १०० जनाले स्टेन्टसहित एन्जियोप्लास्टि, १ जनाले बलुन एन्जियोप्लास्टि, ९ जनाले अस्थायी र ८ जनाले स्थायी पेसमेकर सेवा, ५ जनाले पेरिकार्डियल फ्लुइड निकाल्ने जीवनरक्षक सेवा र १ जनाले रेनल एन्जियोग्राफी गराइएको छ। मुटु सम्बन्धी गम्भीर जटिलता देखिएका विरामीलाई ‘गोल्डेन आवर’मै उपचार गर्न सकिने भएकाले भेरीको क्याथ ल्याब पश्चिम नेपालमै सबैभन्दा महत्वपूर्ण केन्द्रका रूपमा मानिन्छ।

    बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, दार्चुलालगायत पश्चिम र कर्णालीका विभिन्न जिल्लाबाट मुटुरोगी भेरी अस्पतालमा उपचारका लागि आउने क्रम बढ्दै गएको छ। सस्तो र गुणस्तरीय सेवा, अनुभवी विशेषज्ञ चिकित्सकहरूको उपलब्धता, दक्ष स्वास्थ्यकर्मी र पर्याप्त स्रोत–साधनले भेरी अस्पताल पश्चिम नेपालका मुटुरोगीको प्रमुख आश्रयस्थल बनेको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन्।

    कर्णाली प्रदेशका बिरामीले पनि भेरी अस्पताललाई आफ्नो जीवनरक्षक केन्द्रका रूपमा अनुभूत गरेका छन्। दैलेखबाट उपचारका लागि आएकी ४२ वर्षीया गोमा शाहीका अनुसार भेरी पुगेपछि उपचार सहज, छिटो र किफायती भयो। उनले भनिन्, “गाउँमा त काठमाडौँ लैजानुपर्ने होला भन्थे, तर भेरी आएपछि केही घण्टामै परीक्षणदेखि उपचारसम्म भयो। न त धेरै खर्च भयो, न त अनावश्यक दौडधूप। अब यत्ति राम्रो सेवा घरनजिकै पाइने भएपछि कर्णालीका बिरामीका लागि यो ठूलो राहत हो।”

    जुम्लाका ५५ वर्षीय खड्गबहादुर रोकायले पनि भेरी अस्पतालको क्याथ ल्याबले आफ्नो जीवन बचाएको अनुभव सुनाए। “अचानक छाती दुखेर बेहोस जस्तै भएर यहाँ ल्याइएछु। डाक्टरले तुरुन्तै प्रक्रिया सुरु गरे। स्टेन्ट राखेपछि अहिले ठिक भएर घर फर्किन लागेको छु,” उनले भने, “काठमाडौँ पुर्‍याउँदा मेरो ज्यान जोगिन मुस्किल थियो होला। भेरी अस्पताल कर्णालीका मान्छेका लागि वरदानजस्तै भएको छ।”

    पश्चिम र कर्णालीका बिरामीका लागि सहज, छरितो र सुरक्षित मुटु उपचार उपलब्ध गराउँदै आएको भेरी अस्पतालको क्याथ ल्याब सेवा क्षेत्रमै सबैभन्दा विश्वासिलो केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

     

  • ८ मंसिर २०८२, आईतवार १५:१९ प्रकाशित

  • Nabintech