९, मंसिर २०८२
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध समाज निर्माणको आधारका रूपमा अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ को अवसरमा मंगलबार शुभकामना सन्देश जारीगर्दै नेपालमा अझै पनि कुप्रथा, विभेदपूर्ण सोच र सामाजिक बन्धनका कारण लैंगिक हिंसा सहन बाध्य रहेको भन्दै यस्तो समस्या अन्त्य गर्न परिवारदेखि समुदाय र सरकारी संयन्त्रसम्मको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिनुभएको छ । संविधानले समतामूलक, समावेशी र सहभागितामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको बताउदै लैंगिक हिंसा अन्त्यका लागि कानुनमा तोकिएका प्राब्धानहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, हिंसा प्रभावितको उपचार, संरक्षण तथा पुनस्र्थापनाका उपाय थप प्रभावकारी बनाउनुपर्ने आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले लैङ्गिक हिंसा अन्त्यलाई विकास र समृद्धिको मुख्य आधारका रूपमा लिएको जानकारी पनि दिनुभयो । प्रदेश सरकारले लैङ्गिक समानता नीति निर्माण गरी कार्यान्वयनमा ल्याइसकिएको, जसले महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यकहरूको विकास, संरक्षण र सशक्तिकरणलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।‘लुम्बिनी प्रदेश सरकारले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध प्रदेश निर्माणको आधार मानेको छ । यसका लागि लैङ्गिक समानता नीति तयार गरी कार्यान्वयनमा जोड दिइएको छ’सन्देशमा भनिएको छ,‘यो नीतिले महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यकहरूको विकास, संरक्षण र सशक्तिकरणलाई प्राथमिकता दिएको छ ।’
यस्तै प्रदेश सरकारले निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि एक प्रतिशत आरक्षणको व्यवस्था गरी समावेशीतालाई संस्थागत गर्दै लैङ्गिक समानताको अभ्यासलाई मजबुत पारेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले १६ दिने अभियानले सबैलाई समानता, न्याय र सम्मानमा आधारित सभ्य, सुरक्षित र समुन्नत समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।










