१०, मंसिर २०८२
भैरहवा।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल-भारत सिमाक्षेत्रका भन्सारहरूमा राजश्व चुहावट भइरहेको र नियन्त्रण हुन नसकेको विषयमा सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराउनुभएको छ ।
लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटनलाई भैरहवामा सम्बोधन गर्दै उहाँले खुला सिमानाबाट राजश्व चुहावटका गतिविधि नरोकिएको भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । `अहिले पनि मिलेमतोमा भन्सार छलि गरेर सामान भित्र्याइन्छ । यसको नियन्त्रण कसले गर्ने हो ? यसबारेमा हामी गम्भीर छौं कि छैनौं ? आज देशको राजश्व संकलनमै गम्भीर बन्न सकेका छैनौं,´ उहाँले भन्नुभयो-`यो विषयमा विस्तृत छलफल गरेर जनताले सुशासनको अनुभूति पाउनेगरी कार्ययोजना बनाइनेछ ।´
ट्राफिक प्रहरीले चेकजाँचको नाममा सास्ती दिने गरेको भन्दै उहाँले ट्राफिक चेकजाँचलाई व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो । पर्यटकहरूलाई अनावश्यक झन्झट दिन नहुने उहाँको भनाइ थियो ।
सम्बोधनका क्रममा मुख्यमन्त्री आचार्यले संविधानको रक्षा र यसको पूर्ण कार्यान्वयन अहिलेको मुख्य प्रश्न रहेको बताउनुभयो । `कुनै नेता गलत होलान तर, सिस्टम बिग्रिएको छैन,´ उहाँले भन्नुभयो-`कतिपय नेताहरू बिग्रिएका होलान, तर सिस्टम बिग्रिएको छैन । प्रणाली बिग्रिएको छैन । यो कुरा आत्मसात गर्नु सबै निकायका लागि जरुरी छ ।´
उहाँले सुरक्षा क्षेत्रमा पनि आमूल परिवर्तनको आवश्यकता औंल्याउनु भयो । आन्दोलनका नाममा व्यक्तिगत सम्पत्ति जलाउनेहरूलाई कानुनी दायरामा ल्याउन संघीय सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
यस्तै, मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनिकरण गर्ने अभियानमै प्रदेश सरकार रहेकाले स्पष्ट पार्नुभयो । `सरकारको नेतृत्व सम्हाल्दा गरेका संकल्प र अठोट पूरा गर्नेगरी काम अघि बढेका छौं । सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनिकरणको रणनीति बनाएर काम गरिरहेका छौं । मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेका छौं,´उहाँले भन्नुभयो-`पूर्व विशिष्टका सेवा-सुविधा खारेज गरेर अघि बढेको यही सरकार हो ।´
नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको हो ।










