१०, मंसिर २०८२
सुर्खेत।भिएसओ ब्रिटिस काउन्सिलको साझेदारीमा यूके एडको सहयोगमा सञ्चालित जेम्स परियोजनाको कर्णाली प्रदेश–स्तरीय समापन तथा सिकाइ आदान–प्रदान कार्यक्रम सोमबार भएको छ । कार्यक्रम सुर्खेतमा आसमान नेपालको आयोजनामा भएको हो ।
तीन वर्षदेखि सुर्खेत, बारा र रौतहटमा सञ्चालन भएको जेम्स परियोजनाले किशोरीहरूको अंग्रेजी सशक्तीकरण, डिजिटल सीप, जीवनोपयोगी सीप तथा नेतृत्व क्षमतामा उल्लेखनीय सुधार ल्याएको परियोजना सरोकारवालाहरूले बताएका छन ।
कार्यक्रममा परियोजनाका उपलब्धिहरू प्रस्तुत गर्दै सामुदायिक सिकाइ केन्द्र (सि एल सी) भित्र बनेका सिकाइ क्लबहरूलाई दीगो रूपमा सञ्चालन गर्न स्थानीय सरकारहरूले प्रतिबद्धता जनाएका छन । गुर्भाकोट नगरपालिका सुर्खेतका नगर प्रमुख हस्त बहादुर पुनले परियोजनाको सिकाइले अझै प्रभावकारी योजना बनाएर सिएलसी सँग काम गर्ने सोचमा रहेको बताए ।
परियोजनाले सुरुवात गरेका कार्यक्रमलाई स्थानीय सरकारले आत्मसाथ गर्ने उनले प्रतिवद्धता पनि जनाए । सामुदायिक सिकाई केन्द्रले शैक्षिक, सामुदायिक रुपान्तरण लगायत थुप्रै उद्देश्य र कार्यक्षेत्रमा काम गर्नुपर्ने बताउँदै नगर प्रमुख पुनले सीप विकास, सामुदायिक विकास, व्यावसायिक तालिम, परम्परागत सीपलाई पुस्तान्तरण लगायतका काम परिचालन गर्ने उनले बताए । परियोजनाको सहयोगमा सिएलसीमा सञ्चालन भएका कार्यक्रमबाट किशोरीहरुमा पठन पाठनसँगै आत्मविश्वास बढाएको, नेतृत्व क्षमतामा विकास भएको तथा अतिरिक्त क्रियाकलापहरुमा उल्लेख प्रतिनिधित्व भएको उनको भनाइ थियो ।
विद्यालय शिक्षाले औपचारिक शिक्षामा बढी जोड दिएको भएतापनि अनौपचारिक शिक्षाबाट पनि धेरै कुरा सिक्न सकिने भएकाले सिएलसीलाई नगरपालिकाका अन्य शाखाका क्रियाकलापमासँग जोडेर लिने उनले प्रतिवद्धता जनाए । लेकवेशी नगरपालिकाका उपप्रमुख विमला खड्लुक मगरले परियोजनाले सुरु गरेका सिकाइका कामहरुलाई अपन्त्व ग्रहण गरेर अगाडी बढाउने बताए । आगामी दिनमा नगरपालिकाका कार्यक्रममा समावेश गरेर सक्दो बजेट विनियोजन गरेर निरन्तरता दिने उनले प्रतिवद्धता जनाए ।
सिकाइ कक्षा सञ्चालन गरेका विद्यालयमा राम्रो नतिजा देखिएको बताउँदै उपप्रमुख मगरले आगामी दिनमा अन्य विद्यालयमा पनि कार्यक्रम लागू गर्ने विषयमा अध्ययन गर्ने बताएका छन् । भेरीगंगा नगरपालिका सुर्खेतका उपप्रमुख धनसरा बोहोराले सामुदायिक सिकाइ केन्द्रका कार्यक्रम नेपाल सरकारकै कार्यक्रम भएकाले परियोजनाले अगाडी बढाएका कार्यक्रमलाई निरन्तरता दिने बताए । विद्यालय बाहिर रहेका किशोर किशोरीलाई शिक्षा दिने र अन्यलाई पनि विभिन्न ज्ञान दिइएको छ बताउँदै उपप्रमुख बोहोराले सिकाई कक्षामा आवद्ध भएका विधार्थीहरु पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडी रहेको जानकारी दिए ।










