१०, मंसिर २०८२
जुम्ला ।जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह जलाधार क्षेत्रबाट जलविद्युत् उत्पादन गर्न हेलिकप्टरसहित उच्चस्तरीय अन्तर्राष्ट्रिय प्राविधिक टोली जुम्ला पुगेको छ। जर्मन तथा भारतीय विज्ञसमेत सहभागी टोलीले गिडिदहको पानीको मूलस्रोतदेखि पावरहाउस निर्माण हुने सम्भावित स्थानसम्म हवाई तथा स्थलगत अवलोकन गरेको हो।
विज्ञ टोलीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने उद्देश्यका साथ क्षेत्रको भौगोलिक संरचना, जलस्रोत, प्रवाह तथा सम्भावित विद्युत् संरचनाको स्थानको अध्ययन थालेको छ। स्थानीय तहको समन्वयमा एक वर्षदेखि प्राविधिक अध्ययन भइरहेको भए पनि यो पहिलोपटक हेलिकप्टरमार्फत उच्चस्तरीय सर्भे गरिएको हो।
तातोपानी–४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार सर्भे टोलीको हेलिकप्टर रातेखोला–४ स्थित औद्योगिक ग्राममा अवतरण गरेको थियो। टोली फर्किए पनि केही प्राविधिकहरू गाउँमै बसेर सर्भे, ड्रोन मापन तथा प्रवाह विश्लेषणको काम निरन्तर गरिरहेका छन्।
७२ मेगावाटका लागि अनुमति, ३२ मेगावाट उत्पादन सम्भावना
नेपाल विद्युत् प्राधिकरणले हाल गिडिखोला जलाधारबाट ७२ मेगावाट विद्युत् उत्पादनका लागि अनुमति दिएको छ। प्रारम्भिक प्राविधिक अध्ययन अनुसार करिब ३२ मेगावाट विद्युत् निकाल्न सकिने उच्च सम्भावना देखिएको वडाध्यक्ष रोकायाको भनाइ छ।
‘आगामी वैशाखसम्म सबै प्रतिवेदन सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘पहिलो चरणको अध्ययनमा ८० प्रतिशत विद्युत् निकाल्न सकिने सम्भावना प्रष्ट देखिएको छ।’
डीपीआरदेखि उत्पादनसम्मको जिम्मा आध्यान्त इन्भेष्टमेन्ट प्रालिलाई
विद्युत् परियोजनाको डीपीआर निर्माणदेखि उत्पादनसम्मको जिम्मेवारी आध्यान्त इन्भेष्टमेन्ट प्रालिले लिएको छ। सबै अध्ययन प्रतिवेदन सकिएपछि पाँच वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। परियोजनामा कम्पनीको लगानीसँगै स्थानीय समुदायको स्रोत र श्रम परिचालन गरिने वडाध्यक्ष रोकायाले जानकारी दिए।
स्थानीय विकास र समृद्धिको आधार
गिडिदह केवल जलविद्युत् सम्भावना बोकेको क्षेत्र मात्र नभई तातोपानी गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय गन्तव्यसमेत हो। यहाँबाट बिजुली निकालेर बिक्री गर्न सकिने अवस्था बनेमा स्थानीय रोजगारी, आय–आर्जन तथा पूर्वाधार विकासका माध्यमबाट समग्र गाउँपालिकाको आर्थिक समृद्धिको ढोका खुल्ने तातोपानी गाउँपालिकाले जनाएको छ।
हेलिकप्टरमार्फतको उच्चस्तरीय अवलोकनपछि अब परियोजनाको प्राविधिक अध्ययन झनै तीव्र बनेको छ। स्थानीयवासी र विज्ञ दुवैले गिडिदह जलाधारलाई कर्णाली प्रदेशको महत्वपूर्ण ऊर्जा स्रोत बनाउने उम्मीद व्यक्त गरेका छन्।










