१२, मंसिर २०८२
बाँके ।बाँकेको खजुरा गाउँपालिकाले ‘टिनको छानारहित विद्यालय’ अभियानलाई तीव्रता दिँदै नयाँ पक्की पूर्वाधार निर्माणका कामलाई निरन्तरता दिएको छ। गाउँपालिकाले आफ्नो वार्षिक बजेट र विभिन्न दातृ निकायको सहयोगमा क्रमिक रूपमा टिनका छानाहरू विस्थापन गर्दै स्थायी भवन निर्माणको योजना अघि बढाएको हो।
खजुरा–२ गुराँसपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा तीन कोठे पक्की भवन र दुई कोठे शौचालय निर्माणको शिलान्यास बुधबार गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष मन्जु मल्लका अनुसार गत वर्ष मात्र ६ वटा विद्यालयमा पक्की भवन निर्माण सम्पन्न भएको थियो भने यस वर्ष थप ३ विद्यालयमा भवन निर्माण कार्य भइरहेको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले शिक्षाको गुणस्तर वृद्धि विद्यालयका भौतिक संरचनासँग जोडिएको बताउँदै स्थानीय तहले यसलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे। यस्तै, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले गाउँसभाले पारित गरेको टिनमुक्त विद्यालय नीतिअनुसार १०६ दिनभित्र पक्की भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष धनराम ओलीले अभिभावकले “कक्षाकोठा अभाव” भन्ने गुनासो नसुन्ने गरी काम अघि बढाएको बताए। उनले २०२४ सालमै स्थापना भएको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पर्याप्त जग्गा हुँदाहुँदै पनि भवनको अभाव रहेकाले गाउँपालिकाले तीन कोठे भवन र दुई कोठे शौचालय निर्माणको पहल गरेको बताए। साथै, उनले अभिभावकलाई तरकारी बाली जस्तै आफ्नो बालबालिकाको शिक्षामा पनि नियमित हेरचाह गर्न आग्रह गरे।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हस्तबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहयोगी संस्था ‘बिल्ड अन नेपाल’का फील्ड संयोजक महेश रानाले निर्माण हुन लागेको पूर्वाधारबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
यो परियोजना खजुरा गाउँपालिकाको १० लाख रुपैयाँ र बिल्ड अन नेपालको ३५ लाख रुपैयाँ बराबरको सहयोगमा निर्माण हुँदैछ। बिल्ड अन नेपालले नगदभन्दा पनि आवश्यक सबै निर्माण सामग्री उपलब्ध गराउँदै आएको छ।
यस अभियानले स्थानीय स्तरमा सुरक्षित, गुणस्तरीय र बालमैत्री सिकाइ वातावरण निर्माणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।










