भारत–नेपाल पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ हुने

  • नमस्ते कर्णाली

  • २३, मंसिर २०८२
    बाँके । भारतीय पर्यटकलाई ठूलो संख्यामा नेपाल भित्र्याउँदै पश्चिम नेपालको पर्यटन क्षेत्रलाई गति दिने उद्देश्यसहित नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने भएको छ। नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा पुस ४, ५ र ६ गते (डिसेम्बर १९, २० र २१) नेपालगञ्जमा कन्क्लेभ गर्न तयारी थालिएको नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले जानकारी दिनुभयो।

    अध्यक्ष रेग्मीका अनुसार पश्चिम नेपालको पर्यटन सम्भावनालाई व्यापक रूपमा अघि बढाउने तथा भारतीय पर्यटक आकर्षित गर्ने लक्ष्यसहित यो कन्क्लेभ आयोजना हुन लागेको हो।
    “क्रस बोर्डर टुरिज्म कन्क्लेभ यस क्षेत्रका सबै पर्यटन व्यवसायीको साझा अभियान हो। यो कार्यक्रमले पश्चिम नेपालको समग्र पर्यटन गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ,” रेग्मीले भन्नुभयो।

    कार्यक्रममा नेपाल र भारत दुबै देशका पर्यटन व्यवसायी, सरोकारवाला निकाय तथा नीति निर्माताबीच अनुभव आदान–प्रदानदेखि लिएर सिमाक्षेत्रमा देखिने समस्याको समाधानका उपायसमेत छलफल गरिने बताइएको छ।
    पर्यटन प्रवर्धन मञ्च बाँकेका संयोजक तथा नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सरकारले भारतीय पर्यटकलाई सहज रूपमा नेपाल आउने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो
    “भारत–नेपाल मैत्री सम्बन्ध र खुला सीमा पर्यटनका लागि ठूलो अवसर हो। सरकारले सहज वातावरण बनाइदिए नेपालको पर्यटन क्षेत्रले अभूतपूर्व फड्को मार्नेछ,” श्रेष्ठले दाबी गर्नुभयो।

    सो अवसरमा हान बाँके अध्यक्ष दिवाकर खनालले नेपालगञ्जलाई केवल ट्रान्जिट प्वाइन्टका रूपमा मात्र नभई ‘टुरिज्म हब’ र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने अभिप्रायले कन्क्लेभ महत्त्वपूर्ण हुने बताउनुभयो।
    उहाँका अनुसार भारतीय पर्यटन व्यवसायीसँग प्रत्यक्ष संवाद, सहकार्य र सम्भावित साझेदारको पहिचानले पश्चिम नेपालमा नयाँ पर्यटकीय अवसर सिर्जना हुनेछ।

    नाट्टा बाँके च्याप्टरका पदाधिकारीका अनुसार पुस ४ गते बेलुका नेपाल–भारतका पर्यटन साझेदार तथा सरकारी प्रतिनिधिलाई स्वागत गरिनेछ। पुस ५ गते बिहान पहिलो सत्रमा औपचारिक ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ तथा दोस्रो सत्रमा ‘बी टु बी’ व्यवसायिक अन्तरक्रिया कार्यक्रम हुनेछ। सोही दिन बेलुकी सहभागीहरूलाई नेपाली सांस्कृतिक कार्यक्रम अवलोकन गराउने तयारी छ।

    पुस ६ गते कन्क्लेभका पाहुनालाई बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराइदिने कार्यक्रम रहेको नाट्टा बाँके च्याप्टरले जनाएको छ। यसमार्फत नेपालगञ्ज र बाँके क्षेत्रको पर्यटन विविधता, सम्भावना र आकर्षणलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गरिने आयोजकले विश्वास व्यक्त गरेका छन्।

  • २४ मंसिर २०८२, मंगलवार १२:१६ प्रकाशित

  • Nabintech