२४, मंसिर २०८२
सुर्खेत।आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस सुर्खेतले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा क्षेत्र नम्बर १ बाट एकल उम्मेदवार सिफारिस भएका छन् कांग्रेस उपसभापति पूर्णबहादुर खड्का ।
कर्णालीबाट केन्द्रीय राजनीतिमा प्रभुत्व जमाउने खड्कालाई कर्णाली कांग्रेसले एकल उम्मेदवार सिफारिस बनाएको हो । २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ बाट खड्का निर्वाचित भएका थिए । कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवारी दिएका खड्काले नेकपा एमालेका ध्रुवकुमार शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।
खड्काले ४२ हजार ६ सय सात मत ल्याएर विजयी हुँदा एमालेका शाहीले ३० हजार नौ सय ८८ मत ल्याएर पराजित भएका थिए । यस्तै, क्षेत्र नम्बर २ बाट पनि उम्मेदवार सिफारिस भएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यका लागी नेपाली वर्णाक्रम अनुसार प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस भएको छ । जसमा निवर्तमान प्रतिनिधिसभा सदस्यदेखि पूर्व मेयरसम्मका नाम परेका छन् । उम्मेदवार सिफारिस भएकाहरुमा उपेन्द्रबहादुर थापा, कलम बहादुर खत्री, नारायण कोईराला, भिष्मराज हमाल र हृदयराम थानी छन््् । थानी निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् भने थापा पञ्चपुरी नगरपालिकाका पूर्वमेयर हुन् ।











