२८, मंसिर २०८२
हुम्ला ।फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लाका २७ वटा मतदानस्थल अति संवेदनशील ठहर गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले भौगोलिक विकटता र राजनीति विवाद हुने ठहर गर्दै ती मतदानस्थललाई अति संवेदनशील ठहर गरेको हो।
जिल्लामा यस पटक थपिएका गरी जम्मा ६० वटा मतदानस्थलमध्ये २७ वटा भौगोलिक विकटता र राजनीति विवाद हुने ठहर गर्दै अति संवेदनशील मतदानस्थलका रुपमा ठहर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताए।
समितिको निर्णयअनुसार २१ वटा संवेदनशील र दश वटा सामान्य छन। जिल्ला सुरक्षा समितिको बैठकले निर्धारण गरेअनुसार अदानचुली गाउँपालिकामा ६ वटा मतदानस्थल रहेकोमा एउटा मतदान केन्द्र अतिसंवेदनशील छ भने पाँच वटा संवेदनशील छन्।
आठ वटा मतदानस्थल रहेको चंखेली गाउँपालिकामा पाँच वटा अति संवेदनशील र तीन वटा संवेदनशील छन्। सात वटा मतदानस्थल रहेको ताँजाकोट गाउँपालिकामा पाँच वटा अतिसंवेदनशील र दुई वटा मतदानस्थल संवेदनशील छन्।
त्यसैगरी १२ वटा मतदानस्थल रहेको सर्केगार्ड गाउँपालिकामा पाँच वटा अति संवेदनशील, चार वटा संवेदनशील र तीन वटा सामान्य छन्। पाँच वटा मतदानस्थल रहेको खार्पुनाथ गाउँपालिकामा दुई वटा अतिसंवेदनशील, दुई वटा संवेदनशील र एउटा सामान्य छन्।
एघार वटा मतदानस्थल रहेको नाम्खा गाउँपालिकामा पाँच वटा अतिसंवेदनशील, चार वटा संवेदनशील र दुई वटा सामान्य अवस्थाका मतदान स्थल निर्धारण गरिएको छ।
त्यसैगरी, सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकामा नौ वटा मतदानस्थल रहेकोमा चार वटा अतिसंवेदनशील, दुई वटा संवेदनशील र तीन वटा सामान्य छन्।
मुख्यगरी भौगोलिक विकटता र राजनीति विवादलाई आधार मानेर मतदानस्थलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले जानकारी दिए।
यसरी निर्धारण गरिएका मतदानस्थलअनुसार सुरक्षा व्यवस्थासमेत निर्वाचनका बेला गरिनेछ। नाम्खा र चंखेली गाउँपालिकामा नयाँ मतदानस्थल थपिएका हुन्। आगामी संसदीय निर्वाचनका लागि हुम्लामा ६० वटा मतदानस्थल र ६१ वटा मतदानकेन्द्र कायम भएका छन। मंसिर ५ गते तोकिएको अवधिमा हुम्ला जिल्लाको मतदाता संख्या ३४ हजार ५०२ छ। यसअघि २०७९ सालको निर्वाचनमा हुम्ला जिल्लामा ५८ वटा मतदानस्थल कायम गरिएका थिए। हुम्ला जिल्लाको मतदाता संख्या ३३ हजार ३ सय ८ रहेको निर्वाचन कार्यालयले जनाएको छ।











