४, पुस २०८२
बाँके ।कोहलपुरस्थित पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा चर्चित उपन्यास ‘नीलो प्रेम’माथि किताब संवाद कार्यक्रम सम्पन्न भएको छ। साहित्य, प्रेम र युवामनको मनोविज्ञानलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रममा लेखक, प्राध्यापक, विद्यार्थी तथा साहित्यप्रेमीको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालले क्याम्पसमा अध्ययनरत विद्यार्थी र यस क्षेत्रका स्रष्टालाई लक्षित गरी उपन्यास नीलो प्रेमका अन्तर्य बुझाउने, साथै लेखकसँग प्रत्यक्ष भेटघाट र संवाद गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। साहित्य केवल पढ्ने विषय मात्र नभई बहस, विमर्श र संवादमार्फत अझ समृद्ध हुने भएकाले यस्ता कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो।
उपन्यास नीलो प्रेमका लेखक पुरुषोत्तम बजगाईँले कार्यक्रममा सहभागीका जिज्ञासाको उत्तर दिँदै आफ्नो लेखन यात्राबारे अनुभव साझा गर्नुभयो। उहाँले युवा वर्गको मनोविज्ञानलाई विषयवस्तु बनाउँदै प्रेमका विविध आयामलाई ध्वनि सौन्दर्यका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको उल्लेख गर्नुभयो। प्रेम केवल रोमान्समा सीमित नहुने, त्यसमा पीडा, अपेक्षा, असफलता, आत्मसंघर्ष र जीवनबोधका तहहरू समेत मिसिएको हुने भन्दै उपन्यासमार्फत ती पक्ष उजागर गर्न खोजिएको उहाँले बताउनुभयो। सहभागीले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्दै लेखक बजगाईँले साहित्य समाजको ऐना भएकाले समय र समाजसँग संवाद गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि वागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दानबहादुर हमालले नीलो प्रेम उपन्यासले प्रेमका अनेक रङ र आयामलाई गहिराइमा प्रस्तुत गरेको बताउनुभयो। उहाँले उपन्यास पढ्दा युवापुस्ताको सोच, भावनात्मक उतारचढाव र समकालीन समाजको यथार्थ झल्किने उल्लेख गर्नुभयो। क्याम्पसका विद्यार्थीहरूको रचनात्मक क्षमता अभिवृद्धि गर्न क्याम्पस सधैँ प्रयासरत रहेको बताउँदै यस्ता साहित्यिक साक्षात्कार कार्यक्रमले विद्यार्थीमा लेखन र अध्ययनप्रतिको हौसला थप्ने उहाँको भनाइ थियो।
कार्यक्रममा प्राज्ञ महानन्द ढकालले साहित्यिक कृतिमाथि संवाद र समीक्षा संस्कृतिको विकास हुनु सकारात्मक भएको उल्लेख गर्नुभयो। उहाँले नीलो प्रेमले समकालीन नेपाली उपन्यासको धारलाई नयाँ उचाइमा पुर्याएको टिप्पणी गर्नुभयो। त्यस्तै पूर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहकार सागर गैरेले यस्ता कार्यक्रमले स्थानीय साहित्यिक माहोल सशक्त बनाउने भन्दै आयोजकलाई धन्यवाद दिनुभयो।
कार्यक्रममा प्रकाशक बी.एन. पुस्तकका प्रबन्धक विष्णु पौडेलले पुस्तक प्रकाशन र पाठकबीचको सम्बन्धबारे चर्चा गर्नुभयो। उहाँले नीलो प्रेम पाठकले मन पराएको कृतिका रूपमा स्थापित हुँदै गएको जानकारी गराउँदै लेखक र पाठकबीच प्रत्यक्ष संवाद हुनु प्रकाशन क्षेत्रका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो।
संस्थाका उपाध्यक्ष डा. खोपीराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालले गर्नुभएको थियो। कोहलपुर र नेपालगन्ज आसपासका करिब पाँच सय जना साहित्यप्रेमी, विद्यार्थी र स्रष्टाको सहभागिता रहेको उक्त कार्यक्रमले कोहलपुरको साहित्यिक वातावरणलाई थप ऊर्जाशील बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता साहित्यिक संवाद, विमर्श र सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।











