५, पुस २०८२
सुर्खेत।गुणस्तरीय शिक्षाको जग आधारभूत तहको सिकाईलाई प्रभावकारी बनाइनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजित आधारभूत सिकाई सम्वन्धमा नीति संवाद कार्यक्रमका सहभागीले सिकाई स्रोतमा विविधता र प्रारम्भिक सिकाइमा ढृढता हुनुपर्नेमा जोड दिएका हुन् ।
ब्रिटिस काउन्सिल र युनिसेफको आयोजनामा शिक्षा क्षेत्रसँग सरोकार राख्ने निकाय तथा व्यक्तिहरुसँग संवाद गरिएको हो । संवादबाट आएका सुझाव तथा सल्लाहका आधारमा आधारभूत तहको सिकाईलाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था गरिने जनाइएको छ ।
शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दीपा हमालले तीनै तहका सरकारले शिक्षालाई एकल र साझा जेम्मवारीमा राखेर काम गरेको भएपनि कर्णालीका सबै सूचक कमजोर हुनुमा नीतिगत उपेक्षा जोडिएको बताइन ।
‘विद्यमान संरचना अनुसार माथिल्ला तहमा मात्रै गुणस्तर खोजेर हुँदैन,’ उनले भनिन्, ‘एसईई र कक्षा १२ को नतिजा मात्रै हेर्ने तर तल्लो कक्षाका बालबालिकालाई राम्रो कक्षा कोठामा बसाल्न नसकिएको अवस्थामा सिकाईको गुणस्तर खोज्नु व्यर्थ हो ।’ उनले तीनै तहका सरकारले बालविकासलाई उपेक्षा गरिरहेको बताइन ।
बालविकास केन्द्रबाट आएका बालबालिकालाई मात्र भर्ना गर्ने नीतिलाई अनिवार्य नगरिएसम्म आधारभूत तहमा प्रभावकारी सिकाई नहुनेले उनले बताइन । उनले अंग्रेजी, गणीत र विज्ञान विषयमा सिकाई कमजोर हुनु स्वभाविक भएपनि नेपाली विषयमै कमजोर सिकाई हुनुलाई सामान्यरुपमा लिन नहुने बताइन । शिक्षाको गुणस्तर विद्यालयका भवनसँगै शिक्षकलाई दक्ष बनाएमात्र सुधार हुने उनको दावी छ ।
यस्तै, सामाजिक विकास मन्त्रालयका उपसचिव जवाहरलाल हमालले विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु पेशाप्रति प्रतिवद्ध नहुँदा नतिजा खस्केको दावी गरे । ‘सरकारले शिक्षा क्षेत्रमा ठुलो लगानी गरिरहेको छ, तर गुणस्तर कमजोर छ । हामी कहाँ पेशाप्रति प्रतिवद्ध नहुने परिपाटीले नतिजा राम्रो भएन ।
प्रतिवद्ध मान्छेले नतिजाका बारेमा चिन्ता गर्छ, कमजोर हुनुको कारण खोज्छ र समाधानका उपाय निकाल्छ । तर हामी कहाँ कसैमा पनि जिम्मेवारी बोध हुनै सकेन,’ उपसचिव हमालले भने । विद्यालयले असल नेतृत्व नपाउँदा शिक्षक जवाफदेही हुन नसकेको उनको दावी थियो । गुणस्तरीय शिक्षाका लागि शिक्षक पनि गुणस्तरीय हुनुपर्ने बताउँदै तीनै तहका सरकारले शिक्षकलाई समायनुकल तालिम र उत्प्रेणा दिने नीति लिएमात्रै आधारभूत तहको सिकाईमा सुधार हुने उनले बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव कृष्णचार आचार्यले शिक्षा क्षेत्रमा लामो समयदेखि काम गरिदै आएको भएपनि आधारभूत तहको सिकाई किन कमजोर बन्यो भन्ने विषयमा साझा धारणा बनाएर अघि बढ्नु पर्नेमा जोड दिए । यहीँ आवश्यकतालाई महशुस गरेर संघीय सरकारले आधारभूत तहको सिकाईलाई नीतिगत रुप दिन लागेको बताए ।
‘विभिन्न विकास साझेदारहरुसँग मिलेर कक्षा १–३ सम्मको सिकाईलाई कसरी गुणस्तरिय बनाउन सकिन्छ भन्ने विषयमा सरकारले सोचिरहेको छ,’ उनले भने, ‘जीवन पर्यन्त प्रभाव पार्ने आधारभूत तहको सिकाईको गुणस्तर बढाउन छलफलबाट प्राप्त सुुझाव तथा सल्लाहलाई ग्रहण गरेर अघि बढ्छौं ।’
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेशको समाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, सुर्खेत, कालिकोट, सल्यान र दैलेख जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख/उपप्रमुख, शिक्षा तथा युवा शाखाका प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक लगायत शिक्षासँग सरोकार राख्ने निकाय तथा व्यक्तिहरुबीच आधारभूत तहको सिकाईलाई नीतिगत व्यवस्थामार्फत प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।











