सेनाको हवाई उद्धारले गर्भवतीको ज्यान जोगायो

  • नमस्ते कर्णाली

  • १३, पुस २०८२
    हुम्ला।हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटकी २१ वर्षीया मनिषा छतयाललाई सुत्केरी बेथा लागेपछि करिब २४ घण्टापछि नेपाली सेनाको स्काइट्रकमार्फत उद्धार गरी सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्याइएको छ । सुत्केरी बेथा लागेपछि उनलाई सर्केगाड स्वास्थ्य चौकीमा ल्याइएको थियो ।
    स्वास्थ्य जाँचका क्रममा बच्चा छड्के रहेको पाइएको र जिल्लामै तत्काल अपरेशन वा विशेष उपचार सम्भव नभएको कारण शनिबार साँझ करिब ५ बजे उनलाई नेपाली सेनाको स्काईट्रकमार्फत उद्धार गरिएको हो ।

    उद्धारपछि मनिषालाई सुर्खेत प्रादेशिक अस्पतालमा ल्याइएर आवश्यक अपरेशन र थप उपचारका लागि तयारी गरिएकोजिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहोराले बताइन् ।
    बच्चा छड्के भएकाले शल्यक्रिया आवश्यक थियो । दुर्गम क्षेत्रका महिलाहरूमा यस प्रकारको हवाई उद्धार सेवा अत्यन्त महत्वपूर्ण छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत यस सेवा मार्फत धेरै गर्भवती र सुत्केरी महिलाको जीवन जोगाइएको छ । मनिषा मात्र होइन, यसअघि पनि नेपाली सेनाको हवाई उद्धार सेवाबाट धरै महिलाको ज्यान बचाइएको अनमी सरिता बोहोराले बताइन् ।
    यो सेवा हुम्ला जस्ता दुर्गम जिल्लामा स्वास्थ्य सुविधा कम र सडक तथा सवारी सहज नहुँदा हवाई उद्धार सेवा जीवनरक्षक साबित भइरहेको छ । नेपाली सेनाको यस सेवाले महिलाहरू मात्र होइन, नवजात शिशुहरूको जीवन जोगाउन पनि ठूलो भूमिका खेल्दै आएको हुम्लाका स्थानियबासीले बताएका छन् ।

  • १३ पुष २०८२, आईतवार ११:१२ प्रकाशित

  • Nabintech