१४, पुस २०८२
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारत विचकाे सम्बन्धलाई थप बलियाे बनाउन दुबै देशकाे पत्रकारिता क्षेत्रकाे याेगदान महत्त्वपूर्ण रहेकाे बताउनु भएको छ । साथै उहाँले माेफसलकाे पत्रकारिताकाे सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सिर्जना गर्नु आजको आवश्यकता भएको बताउनुभएको हाे ।
लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी न्यूज फेस्टिभलको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यो फेस्टिभलले पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र, सामाजिक तथा सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । मिडियाबाट नकारात्मक समाचार प्रवाह भए सम्बन्ध कमजोर हुन सक्ने भन्दै सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउने उहाँको भनाइ छ । सम्मेलन र संवादले सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
दुवै देशको सह–अस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको बताउनुभयो । लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।
समृद्धि र विकासका लागि यस्तो सम्मेलन कोसेढुंगा सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले बुद्ध जन्मभूमि लुम्बिनीको पर्यटन, सांस्कृतिक र सामाजिक विकासमा फेस्टिभलका बहसले नयाँ दिशा दिने बताउनुभयो ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा फेस्टिभल उद्घाटन गरिएको हो । महोत्सवमा नेपाल र भारतमा कार्यरत पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको छ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्य, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूका साथै नेपाल र भारतका विभिन्न क्षेत्रका सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।










