२४, माघ २०८१
बाँके ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको छ। गुलरिया नगरपालिका–७ निवासी पत्रकार एवं समाजसेवी कमलराज पौडेलले अक्षयकोष स्थापनार्थ एक लाख एक हजार एकसय एघार रुपैयाँ सहयोग गरेपछि कोष स्थापना गरिएको हो।
बर्दियाका सञ्चारकर्मीलाई पत्रकारिता क्षेत्रमा टिकाइ राख्ने तथा हौसला प्रदान गर्ने उद्देश्य का साथ कोष स्थापना गरिएको नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे ले जानकारी दिनुभयो। अक्षयकोषबाट प्राप्त व्याज रकमले वार्षिक रूपमा एक जना पत्रकारलाई सम्मानसहित पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो।
पत्रकार पौडेललाई बेलायतस्थित संयुक्त राष्ट्रवादी नेपाली संगठन ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानबारे लेखन र अभियान सञ्चालन गरेबापत ३०३औं पृथ्वी जयन्तीको अवसरमा “पृथ्वी पुरस्कार” सहित एक लाख रुपैयाँ प्रदान गरेको थियो। यही पुरस्कारबाट प्राप्त रकम उहाँले अक्षयकोष स्थापनार्थ चेक हस्तान्तरण गर्नुभएको हो।
पत्रकार पौडेलले बर्दियाका पत्रकारहरूको प्रवर्द्धन, विकास तथा सम्मान स्वरूप रकम प्रदान गरेको बताउनुभयो। साथै, पत्रकारितामा काम गरिरहँदा पत्रकारहरूले भोग्नुपर्ने समस्या महसुस गरेर अक्षयकोष स्थापना गर्न लागेको उहाँको भनाइ छ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराज ले महासंघमा आबद्ध जेहेन्दार तथा लगनशील पत्रकारहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, देशको सीमा, इतिहास र गौरव जोगाउन पत्रकारहरू एक भएर कलम चलाउनुपर्ने उहाँको आग्रह थियो।