२८, माघ २०८१
बाँके ।बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर २, मियाँपूर्वामा मुस्लिम धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सोमबारदेखि मेला सुरु भएको छ। विगत डेढ सय वर्षदेखि बसन्त पञ्चमीपछि हरेक वर्ष यहाँ मेला लाग्दै आएको छ।
मेलाको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री कृष्णा केसी ‘नमुना’ले गरेकी छन्। उद्घाटन समारोहमा प्रदेश सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य अम्बिका काफ्ले, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति पोषणराज केसी, जसपा नेपालका लुम्बिनी प्रदेश मुख्य सचिव राजन रानामगर तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको सहभागिता रहेको थियो।
खलिफा नुर अहमद शाह १८ वर्षसम्म पहाडमा तपस्या गरेपछि धार्मिक स्थलको रूपमा नरैनापुरलाई स्थापना गरेका थिए। सन् १८५७ देखि सुरु भएको यो मेला बाँके, बर्दिया, सुर्खेत तथा भारतको उत्तर प्रदेशका श्रद्धालुहरूको आकर्षणको केन्द्र बनिरहेको छ। मेलालाई सामाजिक सद्भाव, संस्कार र संस्कृति जोड्ने महत्वपूर्ण माध्यमका रूपमा लिने गरिएको छ।
प्रदेश सभा सदस्य कृष्णा केसीले मेलाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बताउँदै सामाजिक एकता कायम गर्न योगदान दिने उल्लेख गरिन्। त्यस्तै, अम्बिका काफ्लेले नरैनापुरको मेलाले विभिन्न समुदायलाई एक ठाउँमा ल्याउने महत्वपूर्ण भूमिका खेलेको बताइन्। नेपाली कांग्रेसका नेता पोषणराज केसीले सामाजिक रीतिरिवाज, मेलमिलाप तथा आपसी सहयोगको संवाहकका रूपमा मेलाले योगदान पुर्याउने विश्वास व्यक्त गरे।
जसपा नेपालका मुख्य सचिव राजन रानामगरका अनुसार नरैनापुरको मेलाले ऐतिहासिक महत्व बोकेको छ। नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले धार्मिक र सामाजिक दृष्टिले यो मेला महत्वपूर्ण रहेको उल्लेख गर्दै यस धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश तथा संघीय सरकारको सहयोग आवश्यक रहेको बताए।
मेलास्थलमा रहेको खलिफा सैयद नुर अहमद शाहको मजारमा श्रद्धालुहरूले च्यादर चढाउने, भाकल हाल्ने जस्ता धार्मिक क्रियाकलाप गर्ने गर्छन्। स्थानीय बिनय दिक्षितका अनुसार मजारप्रति गहिरो आस्था रहेकाले मेलामा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ।
नरैनापुर–१ का वडा अध्यक्ष इसाक जोलाहका अनुसार मेला एक सातासम्म चल्नेछ।