बाँकेमा दुई महिनामा १२६ फरार आरोपित पक्राउ

  • नमस्ते कर्णाली

  • ६,फाल्गुन २०८१

    बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले पुस र माघ महिनामा मात्रै १२६ जना फरार अपराधी पक्राउ गरेको छ। लामो समयदेखि अदालतबाट सजाय तोकिएर पनि फरार रहेका अपराधीहरूलाई खोजी गरी पक्राउ गर्ने विशेष अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिनुभयो।

    एसपी कार्कीका अनुसार माघ महिनामा ६१ जना अपराधी पक्राउ परेका छन्, जसबाट २५ वर्ष ९ महिना २१ दिनको कैद तथा २० लाख ६ हजार ७२७ रुपैयाँ जरिवाना असुल गरिएको छ। यस्तै, पुस महिनामा पक्राउ परेका ६५ जनाबाट १९ वर्ष ४ महिना २७ दिनको कैद तथा ५१ लाख ५५ हजार १३ रुपैयाँ जरिवाना असुल गरिएको छ।

    जिल्ला प्रहरी प्रवक्ता डिएसपी आयुशप्रसाद जोशीका अनुसार फरार अपराधीलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको छ। उनले अपराध नियन्त्रण र कानुनी कारबाहीलाई प्रभावकारी बनाउन प्रहरीले निरन्तर अभियान सञ्चालन गरिरहेको बताउनुभयो
    माघ महिनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा १४६ वटा मुद्दा दर्ता भएकोमा १३५ जना पक्राउ परेका छन्। त्यस्तै, ५८ वटा पेन्डिङ मुद्दा फस्र्यौट गरिएको छ। यस अवधिमा ३९४ वटा ठाडो उजुरी प्राप्त भएकोमा ३८७ वटा फस्र्यौट भएका छन् भने बाँकी ७ वटा प्रक्रियामा छन्।

    महिला तथा बालबालिका सम्बन्धी १० वटा मुद्दा दर्ता भएकोमा ९ जनालाई कानुनी दायरामा ल्याइएको छ। घरेलु हिंसा सम्बन्धी ४० वटा उजुरी प्राप्त हुँदा ३३ वटा मिलाइएको छ भने बाँकी अनुसन्धानमा छन्। सामाजिक हिंसा सम्बन्धी २२ वटा उजुरीमध्ये २१ वटा मिलापत्र गरिएका छन्।

    हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ५५ वटा निवेदन दर्ता भएकोमा २६ जनालाई फेला पारेर अभिभावकको जिम्मा लगाइएको छ। त्यस्तै, सिमानाबाट ११६ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई उद्धार गरिएको छ भने अलपत्र अवस्थामा भेटिएका ५६ जनामध्ये ५१ जनालाई संरक्षण संस्थामा पठाइएको छ।
    प्रहरीको निरन्तर अभियानका कारण बाँकेमा अपराध नियन्त्रण प्रभावकारी बन्दै गएको देखिन्छ। फरार अपराधी नियन्त्रण अभियानलाई अझ कडाइका साथ अघि बढाइने एसपी कार्कीले बताउनुभयो।

  • ६ फाल्गुन २०८१, मंगलवार २०:१८ प्रकाशित

  • Nabintech