१३, फाल्गुन २०८१
बाँके ।नेपालगन्ज नाकामा लागुऔषध ओसारपसार गर्ने भारतीय नागरिकहरूलाई प्रहरीले लगातार पक्राउ गरिरहेको छ। पाँच दिनअघि ३६२ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका भारतीय नागरिक विशाल अहमदपछि, पुनः ठूलो परिमाणमा ब्राउन सुगरसहित अर्का भारतीय नागरिक पक्राउ परेका छन्।
नेपालगन्ज उपमहानगरपालिका–१५ पुरानो इँट्टाभट्टा हुँदै नेपाल प्रवेश गर्ने क्रममा भारत, बहराइच जिल्लाको काजिपुरुवा घर भएका २१ वर्षीय अल्वक्स खाँलाई प्रहरीले पक्राउ गरेको हो। सोमबार अपराह्न ४ बजे पक्राउ परेका खाँको साथबाट शुद्ध तौल ७२२.६३ ग्राम ब्राउन सुगर बरामद भएको बाँके प्रहरीले जनाएको छ।
बाँके प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी निरीक्षक हिमराज बिकका अनुसार पक्राउ परेका अल्वक्स खाँमाथि थप अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ। यसअघि, फागुन ७ गते नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषध कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरी टोलीले भारतको बहराइच जिल्ला निवासी ३१ वर्षीय विशाल अहमदलाई ३६२ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो।
नेपालगन्जमा बरामद भएको ब्राउन सुगरको परिमाण हालसम्मकै ठूलो रहेको दाबी प्रहरीले गरेको छ। अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार यसको लागत ३७ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
यसैबीच, नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रमा चेकजाँचका क्रममा प्रहरीले ४ केजी २२० ग्राम चरेससहित दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटको खाडाचक्र नगरपालिका–१० निवासी ३५ वर्षीय विक्रम शाही र सोही ठाउँका २८ वर्षीय भक्त बहादुर शाही रहेका छन्।

विक्रम शाहीले चलाएको सुप्र. ०१-०११ प १८५५ नम्बरको स्कुटरमा पछाडि सवार भक्त बहादुर शाहीलाई शंका लागेर चेकजाँच गर्दा शाहिको पिठ्युँमा भिरेको कालो झोलाभित्र ४ केजी २२० ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई स्कुटरसहित नियन्त्रणमा लिई थप अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक बिकले जानकारी दिनुभयो।