कोहलपुरमा २९औं नेल्टा अन्तर्राष्ट्रिय सम्मेलनको पोस्ट-कन्फरेन्स कार्यशाला भव्य रूपमा सम्पन्न

  • नमस्ते कर्णाली

  • २१, फाल्गुन २०८१

    बाँके ।नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) बाँके शाखाको आयोजनामा २९औं नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन २०२५ को पोस्ट-कन्फरेन्स कार्यशाला कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस मा भव्य रूपमा सम्पन्न भएको छ। क्षेत्रीय अंग्रेजी भाषा कार्यालय , अमेरिकी राजदूतावास, काठमाडौँ को विशेष सहयोगमा सम्पन्न उक्त कार्यशालामा अंग्रेजी शिक्षण विधिमा केन्द्रित व्यावहारिक तालिम प्रदान गरियो।

    कार्यशालामा प्राध्यापक डा. दयामुद्रा ए. डेनेही, RELO अफिसर रोजर एफ. कोहेन र RELO विशेषज्ञ बिश्वराज गौतम ले अन्तरक्रियात्मक शिक्षण विधि तथा नवीनतम प्रविधि बारे विशेष प्रशिक्षण दिए। यस कार्यशालाले स्थानीय अंग्रेजी शिक्षकहरूलाई प्रभावकारी शिक्षण रणनीति तथा व्यावहारिक सीपहरू प्रदान गर्ने उद्देश्य राखेको थियो।

    बागेश्वरी बहुमुखी क्याम्पसको विशेष सहकार्यमा सम्पन्न यस कार्यक्रमले शिक्षकहरूबीच अनुभव आदान-प्रदान गर्ने अवसर सिर्जना गरेको छ। नेल्टा बाँके शाखाका अध्यक्ष प्रमोद सुवेदीका अनुसार यस्ता कार्यशालाहरूले शिक्षकहरूको पेशागत विकासमा टेवा पुर्‍याउने तथा अंग्रेजी भाषा शिक्षणलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

    कार्यशालामा बाँके जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयबाट छनौट भएका ३५ भन्दा बढी अंग्रेजी शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी शिक्षकहरूले नवीनतम प्रविधि तथा प्रभावकारी शिक्षण विधिहरू सिक्न पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो सिकाइलाई कक्षाकोठामा व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्।

  • २१ फाल्गुन २०८१, बुधबार २१:११ प्रकाशित

  • Nabintech