प्रधानमन्त्री ओली सुर्खेतमा 

  • नमस्ते कर्णाली

  • २३, फाल्गुन २०८१

    सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत आईपुग्नु भएको छ ।
    उहाँलाई आज सुर्खेत विमानस्थलमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, प्रदेश सभामुख नन्दा गुरुङ तथा मुख्यमन्त्री यामलाल कँडेलले स्वागत गर्नु भएको हो । प्रधानमन्त्रीको स्वागतका लागि प्रदेश सदरमुकाम स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसँगै मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीले स्वागत गर्नु भएको थियो ।

    आज प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको तेस्रो दीक्षान्त समारोहमा सहभागी भई ८ सय ४१ जना विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम रहेको छ । दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट ३ जनालाई उपकुलपति पदक प्रदान गरिने छ । आजै प्रधानमन्त्रीले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ क्याम्पस भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयका डीन लिलाधर तिवारीले जानकारी दिनु भयो । त्यसपछि  प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    उहाँले आजै प्रस्तावित दशौं राष्ट्रिय खेलकुद आयोजना स्थल सुर्खेतको स्टेडियमको समेत अवलोकन गर्ने कार्यक्रम तय भएको छ । उहाँ आजै साँझ काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

  • २३ फाल्गुन २०८१, शुक्रबार १४:३३ प्रकाशित

  • Nabintech